१० दिनभत्र सडकको फोहोर उठाइसक्ने

0
Shares

काठमाडौं । 

राजधानीको सडक गल्लीमा थुप्रिएको सबै फोहोर १० दिनभित्र उठाइने भएको छ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले शुक्रबार १ सय ५३ र शनिबार करिब २ सय ५० ट्रक फोहोर बन्चरे ल्यान्डफिल साइटमा खसालेको थियो । कामपा बन्चरेडाँडा ल्यान्डफिल साइटका इन्जिनियर सरकारद्वीप श्रेष्ठले अब दैनिक करिब ३ सय ट्रिपर फोहोर विसर्जन गर्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबार बिहान १ बजे स्थानीय र कामपाबीच १८ बुँदे सहमति भएलगत्तै सडकमा थुप्रिएको फोहोर ल्यान्डफिल साइटमा लगिएको हो । मौसमले साथ दिएमा अबको १० दिनभित्र उपत्यकाको सबै सडकमा थुप्रिएको फोहोर ल्यान्डफिल साइटमा व्यवस्थापन गरिसक्ने उहाँको दाबी छ ।कामपाले स्थानीयसँग सम्झौता भएलगत्तै सबै वडा कार्यालयलाई तत्काल फोहोर उठाउने व्यवस्था गर्न निर्देशन दिएको थियो ।

सोहीअनुसार सबै वडाले फोहोरमैला व्यवस्थापनलाई पहिलो प्राथमिकता दिएको हो ।कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले कामपाको पहिलो प्राथमिकता फोहोर व्यवस्थापन रहेको बताउँदै भन्नुभयो– ‘स्थानीयको माग कार्यान्वयन प्रक्रियासँगै निरन्तर रूपमा फोहोरमैला व्यस्थापन जारी रहनेछ ।’ उहाँका अनुसार बढीमा १० दिनभित्र उपत्यकाको फोहोरमैला व्यवस्थापन भइसक्नेछ । उहाँले बाटोमा थुप्रिएको र घरबाट फोहोर उठाउन काम निरन्तर रहने बताउनुभयो ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्री र कामपाले स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, ककनी गाउँपालिका, धुनिबेंसी नगरपालिकाका वडा अध्यक्षसहितको बैठकमा भएको सहमतिअनुसार उपत्यकाको फोहोर उठाउन शुरू भएको हो । स्थानीयले सहमतिअनुसार काम नभए फेरि फोहोर रोक्ने चेतावनी दिएका छन् ।

स्थानीय संघर्ष समितिका संयोजक ढुंगानाने १८ बुँदे सम्झौताअनुसार तोकिएको समयमा निर्णय कार्यान्वयन नभए पुनः आन्दोलनमा उत्रने चेतावनी दिँदै भन्नुभयो– ‘हामीले टाइमलाइन तोकेका छाैं, त्यसबेलासम्म पनि काम नभए फेरि आन्दोलनमा उत्रनेछौं ।’शुक्रबार बिहान १ बजे भएको सम्झौतामा एक महिनाभित्र गाडीबाट फोहोरमैलाको फोहोर पानी (लिचेड) नबग्ने गरी फोहोर ढुवानी गर्न सवारी साधन व्यवस्था गर्ने, ३ महिनाभित्र सडक र बत्तीको व्यवस्थापन गर्ने, दुई महिनाभित्र लिचेडको वैज्ञानिक व्यवस्थापन गर्ने, ३ महिनाभित्र बन्चरे डाँडा वरपरका घरटहरा क्षतिपूर्तिसम्बन्धी निर्णय गर्ने उल्लेख छ । यी सबै काम कामपाले गर्ने स्थानीयले जानकारी गराएका छन् ।

वैज्ञानिक अध्ययनका आधारमा प्रभावित क्षेत्र छुट्याउने, यसका आधारमा अधिग्रहण, मुआब्जा वितरणलगायतका काममा महानगरले सम्बन्धित मन्त्रालयमा पहल गर्ने, सिसडोलको क्यापिङ्सम्बन्धी अध्ययन गराएर त्यसको सिफारिसका आधारमा ६ महिनाभित्र व्यवस्थित रूपमा वर्गीकरण गरिएको फोहोर मात्र ल्यान्डफिल साइटमा खसाल्ने पनि उल्लेख छ ।स्थानीयसँगै फोहोर बोक्ने सवारी चालक र सहचालकको स्वास्थ्य बिमा गर्ने, प्रभावित क्षेत्रको पूर्वाधार विकासका लागि वार्षिक बजेटलाई निरन्तरता दिने, प्रभावित क्षेत्रमा हरियाली बढाउने, कृषि प्रवद्र्धनका काम गर्ने, फोहोरलाई स्रोतमा वर्गीकरण गरेर व्यवस्थापनको काम थालनी गर्ने पनि सहमति पत्रमा उल्लेख छन् ।

तीनपिप्ले–गल्छी वैकल्पिक राजमार्गका निर्माण गर्न सरकारसँग अनुरोध गर्ने, तीनपिप्ले बन्चरे सडकको नाममा लगत राख्ने पनि सहमतिमा उल्लेख छ । त्यसै गरी सहमतिमा यसअघि शहरी विकास मन्त्रालयमा भएका प्रतिवद्धता कार्यान्वयन गर्ने निर्णय गरिएको छ । निर्णयसँग स्थानीय तहले फोहोर खसाल्न शुरू गरेको थियो । सहमतिअनुसार कामपाले १ देखि ६ महिनाभित्र सहमतिमा उल्लेख भएका कामहरू गरिसक्नुपर्नेछ ।

सरकारले बन्चरेडाँडा क्षेत्र विकास गर्न ५ वटा सडकको लागि आगामी आर्थिक वर्षमा ४२ करोड रुपियाँ विनियोजन गरेको छ । त्यसबाहेक थप १ करोड ७० लाख रुपियाँ नदी नियन्त्रण, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षरोपणमा खर्च हुनेछ ।त्यस्तै, जग्गा एकीकरण प्रक्रिया शुरू गर्ने, वातावरणीय प्रभाव मूल्याङ्कनकोे सिफारिसको आधारमा अति प्रभावित क्षेत्रका स्थायीवासीको लागि १० वेडको अस्पताल सञ्चालन गर्न स्वाथ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गर्नेसम्मको तयारी सरकारले गरिसकेको छ ।