प्रसारण लाइनमा झुण्डिएका व्यक्तिको उद्धार गर्न मन्त्री भुसालको आग्रह

0
Shares

काठमाडौं ।

नुवाकोटको ककनी गाउँपालिका-७ स्थित त्रिशुली थ्री ए को प्रशारण लाइनमा झुण्डिएका व्यक्तिको उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनालाई आग्रह गरेकी छन् । उनले ती व्यक्तिको हेलिकप्टरबाट भए पनि उद्धार गर्न आग्रह गरेकी हुन्।

प्रसारण लाइनमा हिँड्ने व्यक्तिको उद्धारका लागि सेनालाई आग्रह गरिएको जानकारी दिँदै मन्त्री भुसालले शनिबार सामाजिक सञ्जालमा लेखेकी छन् : ‘नुवाकोटमा त्रिशुली ‘थ्री ए’ को प्रशारण लाइनमा रहेका ब्यक्तिको उद्धार गर्न मैले नेपाली सेनालाई आग्रह गरेको छु । विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गरौँ । उद्धारमा साथ दिन सम्बन्धित सबैलाई आग्रह गर्दछु ।’

बिहान ९ बजेदेखि बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक त्रिशुली थ्री ए प्रशारण लाइनमा हिँडिरहेका छन् । उनको उद्धारमा कठिनाई भएको छ । उनी मानसिक रोगी रहेको बुझिएको छ ।नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार भौगोलिक अवस्थाका कारण क्रेन प्रयोग गरेर उद्धार गर्न पनि कठिनाई भएको छ।

झन्डै ८ घण्टादेखि विक विद्युत तारमा बस्ने तथा हिँड्ने गरिरहेका छन् । २ सय २० केभीको सो प्रशारण लाइनमा विद्युत आपूर्ति बन्द छ भने विद्युत प्राधिकरणले विद्युत उत्पादन समेत बन्द गरेको छ ।