पर्सामा जसपाको गज्जबको रणनीति : एमालेसँग मिलेर अध्यक्ष, काँग्रेससँग मिलेर मेयर

0
Shares

वीरगन्ज।

सत्तारुढ दलको एक घटक जसपाले पर्सामा जिल्ला समन्वय समितिको निर्वाचनमा काँग्रेससंगको गठबन्धन तोडेको छ । उसले काँग्रेससँग गठबन्धन तोडे लगत्तै एमालेसंग गरेको गठबन्धनमा जिल्ला समन्वय समिति (जिसस ) पर्साको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमाले गठबन्धनको प्यानल विजयी भएको हो ।

उक्त निर्वाचनमा जिसस पर्साको प्रमुखमा जसपाका निरन्जन साह सोनार र उपप्रमुखमा एमालेका पुरन कुर्मी निर्वाचित हुनु भएको हो भने बाँकी ७ सदस्यमा पनि जसपा एमालेकै गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार , जिससको प्रमुखमा सोनार १५ मतका साथ निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार सरोज चौरसीयाले भने १३ मत मात्रै पाएका छन् ।

यस्तै उपप्रमुखमा एमालेका कुर्मी पनि १५ मतका साथ निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसकी कुमारी सोनीले भने १३ मत मात्रै पाएकी छन् ।

जिससको ७ जना सदस्यमा जसपाका विजय कुमार राउत , राजपति देवी , व्यान्ति देवी कुर्मी , एमालेका राम प्रसाद यादव , सुशीला कामी , श्रीकान्ति देवी थरुनी र सलिम मिया अन्सारी निर्वाचित भएका छन् । सदस्यमा अरु सबैले १५÷१५ मत पाउदा जसपाका राउत भने १६ मत पाएर विजयी भएका हुन् ।

शुक्रबार भएको निर्वाचनमा पर्साका १४ वटा पालिकाका प्रमुख र उपप्रमुख गरि २८ जनाले मतदान गरेका थिए । सत्तागठबन्धनको शीर्ष नेतृत्वले जिससको निर्वाचनमा पनि सत्तारुढ दलहरुकैबिच गठबन्धन गर्न निर्देशन दिएको थियो ।

तर जिसस पर्साको निर्वाचनमा भने सत्तारुढ दल जसपाले एमालेसंग गठबन्धन गरेको उम्मेदवारी दिएको थियो । काँग्रेसले भने सबै पदमा एकल उम्मेदवारी दिएको थियो । उसलाइ १ पालिका प्रमुख जितेको लोसपाले समर्थन गरेको थियो । पर्सामा रहेको १४ स्थानीय तहमा बैशाख ३० को निर्वाचनमा प्रमुख र उपप्रमुख गरी कांग्रेसले १२ पद , एमालेले १० पद , जसपाले ५ र लोसपाले १ जना प्रमुख पद जितेको थियो ।