दुई कार्यालयमा एउटै हाकिम

दर्जनौं योजनाले गति लिन सकेन

0
Shares

रौतहट ।

दुई अलग कार्यालयमा प्रमुखको जिम्मेवारी एकै व्यक्तिले पाएपछि समस्या उत्पन्न भएको छ । राजनीति पहुँचको आधारमा एकै व्यक्तिलाई फरक जिल्लामा रहेको दुई अलग कार्यालयको जिम्मेवारी दिइएपछि समस्या उत्पन्न भएको हो ।

हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगन्जका प्रमुख सिनियर डिभिजन इन्जिनियर दारोगा प्रसादलाई रौतहटको चन्द्रनिगाहपुरमा रहेको सडक डिभिजनको प्रमुखको समेत जिम्मेवारी दिएपछि दुवै कार्यालयको प्रशासनिक र पूर्वाधारको कार्य प्रभावित भएको आरोप रहेको छ । विकास निर्माणका कार्य अपेक्षित रूपमा हुन नसकेको आलोचना भइरहेका बेला सडक विभागले एकै व्यक्तिलाई दुई कार्यालयको जिम्मेवारी दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

६९ किलोमिटरको दूरीको अन्तरमा रहेको दुई कार्यालय प्रमुखको जिम्मेवारी लिएका दारोगा प्रसादलाई सडक डिभिजन चन्द्रनिगाहपुरमा हाजिर हँुदा हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगन्जमा भेटिँदैन भने हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगन्जमा हाजिर हुँदा सडक डिभिजन चन्द्रनिगाहपुरमा भेटिँदैनन् । यति मात्रै होइन काम विशेष वा बिदामा बसेका बेला उनी दुवै कार्यालयमा भेटिँदैनन् जसले गर्दा निर्माण व्यवसायी मर्कामा परेका छन् ।

दुवै कार्यालयको जिम्मेवारी लिएका दारोगा प्रसादले तीनवटा योजनाको ठेक्का सम्झौता रद्ध गरिदिएका कारण निर्माण व्यवसायी पछाडि परेको निर्माण व्यवसायी बताउँछन् । आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदासमेत दर्जनौं योजना अलपत्र पर्न सक्ने देखिएको एक निर्माण व्यवसायीले बताए । हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगन्जअन्तर्गत ०७२ सालदेखि सञ्चालित बारा, पर्सा र चितवनका भालु खोला, अरुवा खोला, भरतपुर माडी ठोरी हुलाकी राजमार्गका रतनी खोला, बाँदरमुढे खोला, चिताइ खोला, पतरी खोला, टुनामुना खोला, मगई खोला, बगइ खोला, घाघर खोलालगायतका पुल निर्माणले गति लिन सकेको छैन ।

सडक डिभिजन चन्द्रनिगाहपुरबाट सञ्चालित निजगढ बंकुल सडक, गौर पिप्रा समनपुर सडक, भेडियाही सडक, ब्रम्हपुरी पडरिया, मर्यादापुर, गम्हरिया लक्ष्मीपुर, हरिहरपुर कटानी, सखुवा भेलाही, मैनाथपुर, निचुटाहलगायका सडक र पुलहरूको कामले समेत गति लिन सकेको छैन ।