मन्त्रालयको छलफलमा सम्बन्धित मन्त्री नै अनुपस्थित

0
Shares

काठमाडौं  ।

संसद्मा चलिरहेको बजेट विनियोजन विधेयकमाथिको छलफलमा सरकारका सम्बन्धित मन्त्रीहरू नै अनुपस्थित भएका छन् । संसद्मा सांसदहरूले मन्त्रालयसँग केन्द्रित रहेर उठाएको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्ने प्रावधान रहेको भए तापनि सम्बन्धित मन्त्रीहरूले छलफललाई बेवास्ता गरी अनुपस्थित रहे ।

बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक मन्त्रीहरूलाई पर्खदा निर्धारित समयभन्दा आधा घण्टापछि शुरू भएको थियो । तर पनि कृषि तथा पशुपन्छी मन्त्री महेन्द्र राय यादव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र वडू, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की छलफलमा सहभागी हुनुभएन ।

विषयगत छलफलमा मन्त्रीहरू नै सहभागी नभएपछि बैठकमा नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद विमला विकले विनियोजन विधेयकमाथिको छलफलमा सरकारले चरम लापरबाही गरेको भन्दै प्रश्न उठाउनुभएको थियो । उहाँले सभामुख बैठकमा आउनुभन्दा ५ मिनेट घण्टी बज्ने भए पनि आज झन्डै २५ मिनेट ढिलो गरी घण्टी बजेको भन्दै प्रश्न गर्नुभयो– ‘यस्तै हो संसद्को गरिमा ?’

बुधबारको संसद् बैठकको कार्यसूचीमा ४ मन्त्रालयको बजेट विनियोजनमाथि छलफल राखिएको थियो । आफ्नो मन्त्रालयको बारेमा छलफल भइरहँदा सम्बन्धित मन्त्रालयका मन्त्री नै सहभागी नहुनु गलत भएको टिप्पणी गर्दै सांसदहरूले सभामुखलाई बजेटको मन्त्रालयगत छलफलमा उपस्थित हुन सम्बन्धित मन्त्रीहरूलाई रुलिङ गर्न आग्रह गरेका थिए ।नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले पनि सरकारलाई संसदीय गरिमाको ख्याल गर्न आग्रह गर्दै मन्त्रीहरूले संसद्को गरिमा घटाउने काम गरेको आरोप लगाउनुभयो ।