राजनीतिको आडमा दुईवटा कार्यालयको प्रमुख एउटै व्यक्ति, सेवाग्राही मारमा, दर्जनौ विकास निर्माणका आयोजना अलपत्र

दुई कार्यालयको जिम्मेवारी सम्हाले यता तीनवटा महत्वपूर्ण परियोजनाको ठेक्का सम्झौता रद्द

0
Shares

रौतहट । दुई छुट्टा–छुट्टै कार्यालय प्रमुखको जिम्मेबारी एकै व्यक्तिले सम्हालेपछि सेवाग्राही मारमा परेका छन् । राजनीतिको आडमा जिल्लामा रहेका दुई सरकारी कार्यालयको प्रमुख एउटै व्यक्तिले सम्हालेपछि उनीहरू मारमा परेका हुन् ।

हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगञ्जका प्रमुख सिनियर डिभिजन ईन्जिनियर दारोगा प्रसादलाई रौतहटको चन्द्रनिगाहपुरमा रहेको सडक डिभिजन प्रमुखको समेत जिम्मेवारी दिइएको छ । यी दुवै कार्यालय प्रमुखको जिम्मेवारी ई. दारोगालाई दिएपछि प्रशासनिक कामकारवाही ढिलासुस्ती भएको भन्दै जिल्लामा चौतर्फी आलोना भएको छ ।

दारोगाकै कारण विकास निर्माणका कार्य अपेक्षित ढंगले हुन नसकेको भन्दै आलोचना भइरहेको बेला सडक विभागले एकै व्यक्तिलाई दुई कार्यालयको जिम्मेबारी सम्हाल्न दिनुले अर्थपूर्ण ढंगले हेरिएको छ ।

हुलाकी राजमार्ग आयोजनाको कार्यालय वीरगञ्ज र सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरबीच अन्तरको दूरी ६९ किलोमिटर छ । अच्चम त के छ भने हुलाकी राजमार्ग आयोजनाको कार्यालयमा सेवाग्राही पुग्दा उनी त्यहाँ भेटिदैनन् भने सडक डिभिजन कार्यालयमा पुग्दा ई. दारोगा हुँदैनन् ।

यतिमात्र होइन, यद्यपि दारोगा बिदामा बसे वा विरामी भए सेवाग्राहीको कामकारबाही कसले गर्छ भन्ने प्रश्न छ । सरकारी कार्यालय जस्तो संवेदनशिल निकायमा एउटै व्यक्तिलाई दुई छुट्टा–छुट्टै कार्यालय प्रमुखको जिम्मेवारी दिनु आश्चार्य भएको स्थानीय बताउँछन् ।

ईं. दारोगाले दुई कार्यालयको जिम्मेवारी सम्हाले यता तीनवटा महत्वपूर्ण परियोजनाको ठेक्का सम्झौता रद्द गरिदिएका छन् । उनले सम्झौता रद्द गरेपछि निर्माण ब्यवसायीले निर्धारित समयमा काम सम्पन्न गर्न नसकेको गुनासो गरे ।

उनीहरू भन्छन्, ‘आर्थिक वर्ष २०७८/८९ सकिन एक महिना बाँकी छ, तर हाम्रो सम्झौता बिनाकारण रद्द गरियो । हामीले अब उप्रान्त काम कसरी गर्ने ? यसको जिम्मा कि ईं दारोगाले लिनुपर्यो, होइन भने सम्झौता सदर गरी काम गर्न पाउनुपर्छ ।’

आर्थिक वर्षको अन्त्यमा आइपुग्दा दर्जनौ विकास निर्माणका परियोजना अलपत्र पर्न सक्ने देखिएको एक निर्माण व्यवसायीले नेपाल समाचारपत्र दैनिकलाई बताए ।

हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगजअन्तर्गत २०७२ सालदेखि सञ्चालित बारा, पर्सा र चितवनका भालु, अरुवा, भरतपुर माडी ठोरी हुलाकी राजमार्गका रतनी, बादरमुढे, चिताइ, पतरी, टुनामुना, मगई, बगइ, घाघर खोला लगायतका पुल निर्माणले पनि गति लिन सकेका छैनन् ।

सडक डिभिजन चन्द्रनिगाहपुरबाट सञ्चालित निजगढ बंकुल सडक, गौर पिप्रा समनपुर सडक, भेडियाही सडक, ब्रम्हपुरी पडरिया, मर्यादापुर, गम्हरीया लक्ष्मीपुर, हरिहरपुर कटानी, सखुवा भेलाही, मैनाथपुर, निचुटाह लगायका सडक र पुलहरूको निर्माण कार्यले गति लिन सकेका छैनन् ।