सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

0
Shares

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा जेठ २५ गते आयोजित विशेष समारोहका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्हबाट शुसोभित गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयले उनी सशस्त्र प्रहरी नायव महानिरीक्षक पदबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती भएका हुन् ।

समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले हालै पदोन्नती हुनुभएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई हार्दिक बधाई दिँदै उनको कार्यक्षमता, योग्यता, कार्यकुशलता र व्यवसायिकताको मुल्यांकन गर्दै नेपाल सरकारले पदोन्नती प्रदान गरेको बताउँदै उनलाई आगामी कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरे ।

उनले आफु सधैं टिमवर्क र सामुहिकतामा विश्वास राख्ने उल्लेख गर्दै फौजी जीवनमा सबैले बर्दिको सान र दर्जाको मान राख्दै भातृत्व, सद्भाव र आत्म विश्वाससँगै गौरवकासाथ राष्ट्र र नागरिकको सेवामा जुट्नुपर्ने बताए ।

महानिरीक्षक अर्यालले संगठनमा सुधारका विभिन्न कार्यहरु सुरुवात गरिएको चर्चा गर्नुहुँदै सोको कार्यान्वयनका लागि विभागीय प्रमुख, फिल्ड लेवलका कमाण्डर लगायत सकल दर्जाका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको साथ सहयोग तथा सामुहिक प्रयास रहने विश्वास व्यक्त गरे ।

उनले फौजमा चेनअफ कमाण्ड तथा अनुशासनको महत्वमाथि प्रकाश पार्दै भ्रष्टाचारमा शून्य सहनशिलताको नीति कडाईकासाथ पालना गर्दै संगठनको बृहत्तर हितका लागि सकल दर्जाका सबैलाई पूर्ण व्यवसायिक रहि राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा क्रियाशिल रहन निर्देशन दिए ।

सोही अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता अर्यालले संघकी नवनियुक्त उपाध्यक्ष श्रीमती मुना शर्मा गौतमलाई फुलमालाकासाथ हार्दिक बधाई दिँदै सो संघमा स्वागत गरे ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरुका साथै सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।