ललितपुर ।
ललितपुर उद्योग वाणिज्य संघले उद्यमी व्यवसायीहरुबाट उठाउने राजस्वको २५ प्रतिशत उद्योगी व्यवसायीको विकासमा विनियोजित गर्न ललितपुर महानगरपालिका समक्ष माग गरेको छ ।
संघले मंगलबार पाटन संग्रहालमा आयोजना गरेको जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष मनोजबहादुर न्याछ्योंले सो माग गर्नुभयो । महानगरपालिकाको राजस्व परामर्श समिति रहेर तथा उद्यमी व्यवसायीबाट राजस्व उठाउन सक्रिय भूमिका निर्वाह गर्दै आएको स्थितिमा संघले सो माग अघि सारेको पनि अध्यक्ष न्याछ्योंको भनाई रहेको छ । स्थानीय तहका जनप्रतिनिधिको पहिलो कार्यकालमा पनि संघले सो माग उठाएको थियो ।
स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको बेला पनि उठाइएको राजस्व २५ प्रतिशत आर्थिक विकासको लागि संघ मार्फत खर्च गर्ने नीति लिइएको थियो । अध्यक्ष न्याछ्योंले व्यवसाय करलाई प्रभावकारी बनाई संकलन गर्ने र त्यस संकलित रकम मध्ये केही प्रतिशत व्यवसाय विकास,प्रवद्र्धन तथा उद्यमी व्यवसायीको हकहितको लागि संघलाई उपलब्ध गराउने अभ्यास विभिन्न स्थानीय तहमा रहेको पनि बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले संघको अगुवाईमा पाटनको भीमसेन मन्दिर पुनःनिर्माण हुनु निजी क्षेत्रले सम्पदा संरक्षणमा पु¥याएको ज्वलन्त उदाहरण रहेको उल्लेख गर्दै ललितपुरको विकासमा निजी क्षेत्रको सहभागितालाई अझ बलियो बनाउँदै जान्ुपर्नेमा स्थानीय तहको ध्यानाकर्षण गराउनुभयो ।
सो को जवाफमा महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उठेको राजस्वको २५ प्रतिशत उपलब्ध गराउनको लागि नगरसभाबाट निर्णय गर्नुपर्ने भएकोले सो को प्रस्ताव नगरसभामा पेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मेयर महर्जनको पहिलो कार्यकालमा संघले सो माग उठाउँदा मेयर महर्जनले कार्यपालिका आफूहरुको बहुमत नभएको जवाफ दिँदै आएको थियो ।
यस पटक त्यस्तो अवस्था नरहेको संघले उठाउँदै आएको माग पुरा हुनेमा निकै आशावादी रहेको संस्थागत उपाध्यक्ष वीरेन्द्रलाल श्रेष्ठले बताउनुभयो ।सो अवसरमा महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले उद्यमी व्यवसायीबाट उठेको राजस्वको २५ प्रतिशत महालक्ष्मी नगर उद्योग वाणिज्य संघ मार्फत खर्च गर्ने बताउनुभयो । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले निजी क्षेत्रसंग सहकार्य गरी जिल्लाको आर्थिक सम्भावनालाई मूर्त रुप दिन तयार रहेकोमा केन्द्रीत गर्दै आआफ्नो भनाई राख्नुभयो ।संघका महासचिव रुपकमान महर्जनले निजी क्षेत्रले उठाएको मुद्दाप्रति संवेदनशील बन्नुपर्नेमा जोड दिँदै स्थानीय तहले वचनले मात्र नभई ठोस काममा नै सहकार्य हुनुपर्ने बताउनुभयो ।











प्रतिक्रिया