दुर्गन्धित उपत्यका



काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुन नसक्दा राजधानी दुर्गन्धित हुनथालेको छ । फोहोरकै कारण राजधानीमा ट्राफिक जामको समस्या देखा पर्नथालेको छ । राजधानीको फोहोर व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरेडांँडा वरपरका स्थानीय वासिन्दाले आफ्नो माग पूरा नभएसम्म फोहोर व्यवस्थापन हुन नदिने अडान लिएपछि राजधानीका सडक छेउमा थुप्रिएको फोहोरले गम्भीर खालका रोग निम्त्याउने खतरा पनि बढेको छ ।

राजधानीको फोहोर व्यवस्थापनको मुख्य जिम्मा लिएको काठमाडौं महानगरपालिकाको नयांँ नेतृत्वको पहल समेत सफल हुन सकेको देखिंदैन । स्थानीयवासीका माग पूरा गर्न सरकार गम्भीर नबन्दा राजधानीवासीले सास्ती भोग्नुपरेको छ ।

समस्या सम्बोधन गर्न स्थानीय निकायले चालेको कदम प्रभावकारी बन्न नसक्दा फोहोरको समस्या दिनदिनै बढ्दै गएको छ । सरकारले स्थानीयको मागलाई सम्बोधन नगरेको पनि होइन तर नयाँं–नयाँं समस्या निकालेर स्थानीयले फोहोर व्यवस्थापनमा व्यवधान खडा गरेपछि समस्या झन् बढ्दैगएको देखिन्छ । फोहोर व्यवस्थापनको विषयलाई राजनीतिकरण गर्ने स्थानीय वासिन्दाको मागलाई जायज मान्न सकिने अवस्था छैन ।

तरपनि फोहोरका कारण पीडित बनेका जनताको माग भने सरकारले सम्बोधन गर्नैपर्दछ । काठमाडौं महानगरपालिकामा हालै आएको नेतृत्व पनि सही ढंगले परिचालित नहुंँदा समस्या झन् बढ्दै गएको देखिन्छ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले फोहोर व्यवस्थापनका लागि बन्चरेडाँडामा पहिलो पटक दिएको अभिव्यक्ति घातक हुनपुगेको छ ।

नेतृत्वमा पुगेका व्यक्तिले दिने सार्वजनिक अभिव्यक्तिले कहिले काहीं कस्तो असर गर्दछ भन्ने यो पछिल्लो उदाहरण बनेको छ । फोहोर व्यवस्थापनको विषयलाई राजनीतिकरण गर्नु भन्दा पनि यसको दीर्घकालीन समाधान गरिनुपर्दछ । राजनीति गर्नेहरुलाई क्षणिक लाभ त होला यसले ठूलो समूहलाई पारेको असरका बारेमा सोच्नुपर्ने बेला आइसकेको छ ।

साच्चिकै स्थानीय बासिन्दा मर्कामा परेको भए उनीहरुको माग सम्बोधन गरिनुपर्दछ । उनीहरुको माग जायज छैन भने बल प्रयोग गरेर भएपनि फोहोर व्यवस्थापन गर्नुको विकल्प छैन । सरकारले १ सय वर्षकालागि बन्चरेडांँडामा राजधानीको फोहोर व्यवस्थापन गर्नेगरी मिलाएकोमा फोहोर व्यवस्थापनका लागि दीर्घकालीन सोच बनाएर अघि बढ्न नसके यो समस्या पटक–पटक आउने छ ।

फोहोर व्यवस्थापनका सम्बन्धमा स्थानीयको बिरोध सधैंका लागि अन्त्य गर्न नेतृत्वले समयमा नै ध्यान दिनु जरुरी छ । टालटुले नीतिभन्दा पनि दीर्घकालीन समाधान खोजिनु पर्दछ । अबको नेतृत्वले कहिले पनि राजधानीका सडकमा फोहोर नदेखिने गरी यसको समाधान गर्नुपर्दछ । चुनौतीको चाङमा काठमाडौं महानगरपालिकाको नेतृत्वमा आएका मेयर साहले यसलाई समयमा नै ध्यान दिएनन् भने उनी असफल नहोलान् भन्न सकिन्न ।

उनलाई सफल बनाउन खासगरी ठूला राजनीतिक दलहरु नेपाली कांग्रेस र एमालेले पनि आफ्नो तर्फबाट भूमिका खेल्नु आवश्यक छ । आम जनमानसमा मेयर बालेन्द्रलाई असफल बनाउन उनले निर्वाचनमा पराजित गरेका शक्तिहरु भूमिका खेलिरहेका छन् भन्ने धारणा छ । अर्कातिर एक युवाको सफलताले उनलाई मतदान गर्ने ६० हजारभन्दा बढी मतदाताको आत्मवल मात्र बढाउने छैन, मुलुकका आम युवामा सकारात्मक अभिप्रेरणा जाग्नेछ । काठमाडौं सफा भएमा नै यहाँको व्यापार, पर्यटन र नागरिकको स्वास्थ्यमा सुधार हुने पक्ष त छँदैछ ।

प्रतिक्रिया दिनुहोस्