विद्यालयमा लैंगिक हिंसा



कुनै पनि दीर्घकालीन परिवर्तनका लागि संरचना र संस्कार दुवै आवश्यक पर्छ । नीति, नियम कानुनको रूपमा केही हदसम्म संरचना त तयार गरियो तर त्यसलाई प्रयोग गर्ने संवेदनशीलताको संस्कार निर्माण गर्न नसक्दा आज हरेक क्षेत्रमा यौन हिंसाका घटनाले समाजको स्वास्थलाई विषाक्त पार्दैछ ।

प्रायः जसो प्रत्येक दिन कुनै न कुनै रूपले विद्यालय तहमा भएका यौन हिंसाका खबरले समाजलाई लज्जित र आक्रोशित बनाउन थालेको छ । यसको पछिल्लो उदाहरण काठमाडौंको चाबहिलस्थित एक विद्यालयमा भएको घटना र विद्यार्थीहरू विद्यालय पोशाकमै आक्रोशित मुद्रामा सडकमा पुगेको दृश्यबाट लिन सकिन्छ । आखिर किन दैनिक रूपमा विद्यालयमा बालबालिका संगको यौन हिंसा सम्बन्धित घटनाको खबरहरूले समाजलाई मर्माहत पार्दैछ ? यस्ता घटनाहरू घट्छन, भीड जम्मा हुन्छ, केही लेखहरू प्रकाशित हुन्छन् त्यसपछि फेरि कुरा सेलाउन नपाउँदै त्यस्तै प्रकृतिको अर्को घटनाको खबर बाहिर आउँछ र समाजलाई पुनः लज्जित बनाउँछ ।

२१औं शताब्दीको आजको समाज जहाँ हरेक व्यक्तिको सम्मानसहितको गुणात्मक जीवनलाई विकास र समृद्धिको पहिलो आधारको रूपमा लिइन्छ त्यस्तोमा यस्ता अमानवीय घृणित अपराधका खबरहरूले कसलाई विचलित न बनाउला ? यसको निरन्तरता भइरहनुको पछाडि कतै लैंगिक संवेदनशीलताको अभाव त होइन ? लैंगिक संवेदनशीलता भनेको आफू सँगसँगै समाजमा रहेका सबै लिंगीहरूका शारीरिक, मानसिक, व्यावहारिक र बौद्धिकलगायतका हरेक किसिमका अवस्था र क्षमतालाई सम्मानका साथ स्विकार्नु र त्यसप्रति संवेदनशील हुनु हो ।

हाम्रा विद्यालयहरूमा यसका लागि आवश्यक पर्ने पूर्वाधारहरू तयार छन् कि छैनन् ? अर्थात् त्यहाँ अध्यनरत विद्यार्थीहरू, शिक्षक तथा सम्पूर्ण कर्मचारी लैंगिक संवेदनशील बनाउन के कस्तो रणनीति र कार्यक्रमहरू तयार पारेका छन् ? किनकी विद्यालयजस्तो संस्थाले आफूसँग सम्बन्धित सम्पूर्णलाई लैंगिक संवेदनशील बनाउन के कस्तो वातावरण निर्माण गर्छ त्यसको भूमिका अत्यन्त महत्वपूर्ण रहन्छ विशेषगरी विद्यालय तहमा किनकि जीवनको जग हाल्ने ठाउँ नै विद्यालय हो जहाँ समाजको स्वरूप र अवस्था प्रस्ट झल्किन्छ ।

विज्ञता र आवश्यकताको आधारमा पेसागत हिसाबले समाजका विभिन्न संस्थासँग जोडिएका हरेक व्यक्ति यही समाजमा हुर्केका हुन् जहाँ पितृसत्तात्मक सामाजिक संरचनामा भएको तिनको सामाजिकीकरणको प्रभाव तिनका सोच, व्यवहार र कार्यशैलीमा प्रत्यक्ष झल्किन्छ । समाजमा विद्यमान लैंगिक विभेदका कतिपय गलत भाष्यहरूबाट अप्रभावित रहन तथा ती गलत सोच र अभ्यासहरूलाई सच्याउनका लागि पहल गर्न चेतनाको स्तर परिवर्तन हुन आवश्यक छ जसको लागि अध्ययन र विश्लेषण क्षमता चाहिन्छ । राज्यले आफ्ना विभिन्न निकायहरूमार्फत् समाजको सचेतना बढाउन विभिन्न नीति निर्माण तथा कार्यक्रमहरू गर्नु पर्ने हुन्छ ताकी समाजमा हरेक व्यक्ति सम्मानका साथ बाँच्न पाऊन् । त्यसको सुनिश्चितताका लागि उपयुक्त नियम कानुनको निर्माण तथा प्रभावकारी कार्यन्वयनप्रति सचेत रहनु राज्यको दायित्व पनि हो ।

विश्वव्यापीकरणले विश्वदेखि व्यक्तिसम्म अत्यधिक प्रभाव पारेको अहिलेको समयमा तीनका परिवर्तित दैनिकी, कार्यविभाजन र जिम्मेवारीले उब्जाउन सक्ने असुरक्षाप्रति सम्बन्धित सम्पूर्ण निकायहरूको बुझाई स्पस्ट हुन आवश्यक छ । त्यसका लागि पितृसत्तात्मक संरचनाले गरेको सामाजिकीकरणद्वारा निर्देशित यथास्थितिवादीहरूका मानसिकतालाई परिमार्जन गर्न के के उपाय अपनाउने ? त्यसबारे छलफल गरिने अभ्यासहरू खासै गरिएको भेटिन्न ।

जसले गर्दा विद्यालय मात्रै होइन समाजका प्रायःजसो हरेक संस्था र निकायहरू लैंगिक विषयप्रति जति संवेदनशील हुनुपर्ने हो त्यति हुन सकेको देखिन्न । अर्थात् लैंगिक संवेदनशीलतालाई हामीले आफ्नो संस्कारको रूपमा अंगाल्न सकेका छैनौं । कुनै पनि दीर्घकालीन परिवर्तनहरूका लागि संरचना र संस्कार दुवै आवश्यक पर्छ । नीति, नियम कानुनको रूपमा केही हदसम्म संरचना त तयार गरियो तर त्यसलाई प्रयोग गर्ने संवेदनशीलताको संस्कार निर्माण गर्न नसक्दा आज हरेक क्षेत्रमा यौन हिंसाका घटनाले समाजको स्वास्थलाई विषाक्त पार्दैछ ।

वास्तवमा विद्यालयमा हुने लैंगिक हिंसाको स्वरूप र कारणहरू सर्सर्ती हेर्दा मुख्य रूपमा विगतदेखिका स्थापित पितृसत्तात्मक सोचले निर्देशित भाष्यहरू, त्यसबाट नियन्त्रित सोचहरू जहाँ लिङ्गीय आधारमा विभिन्न गलत सोच र बुझाइहरू स्थापित गरिएका छन् त्यसको ठूलो भूमिका रहेको देखिन्छ । समाजद्वारा स्थापित र नियन्त्रित कथित राम्रो र नराम्रो महिला र पुरुषको अलग अलग दुईवटा फ्रेम जसमा समयसापेक्ष आवश्यक परिमार्जनको अभाव रहेको छ । त्यसलाई पुनः परिभाषित गरिनुका साथै आवश्यक परिवर्तन जरुरी छ ।

समाजका हरेक संरचनाहरूले यौन शोषण र लैंगिक हिंसाप्रति गर्ने प्रतिक्रियामा एउटा समानता के देखिन्छ भने सकेसम्म यसलाई लोकलाजको विषय बनाउँदै भित्रभित्रै मिलाउन खोज्नु, पीडितको भोगाइका पीडादायी अनुभूतिहरूलाई उपेक्षा गरिनु, यस्ता विषय बाहिर ल्याउँदा विद्यालय, पीडित, समुदाय, परिवार सबैको बेइज्जत हुने सोच बोकी राख्नु र पीडितलाई सकेसम्म यसबारे बोल्न निरुत्साहित हुने खालको वातावरणले प्रोत्साहन पाउनु भन्ने देखिन्छ । जसले गर्दा पीडक भित्र भित्रै हौसिँदै जान्छ र उसलाई आफूले गरेको कार्य अपराध हो भन्नेसम्म भान हुँदैन ।

अहिलेको अवस्थामा जसरी तीव्रताका साथ सामाजिक संरचना, महिला र पुरुषका जीवन शैली, कार्य विभाजनदेखि लिएर जिम्मेवारी र जवाफदेहितामा जुन किसिमले परिवर्तनहरू आएका छन् त्यसलाई शीघ्रताका साथ बुझ्न र सम्बोधन गर्न सम्बन्धित सम्पूर्ण जिम्मेवार पक्षलाई कतिको सक्षम र संवेदनशील बनाइएको छ त्यो अत्यधिक महत्वपूर्ण विषय हो किनकी यसले घटना घट्न नदिने किसिमको सचेतना बढाउने कार्य गर्न सक्छ ।वर्तमान अवस्थामा समाजमा स्थापित सम्बन्धहरूको परिभाषा बदलिएको छ ।

जस्तो कि परिवारको संरचना तथा भूमिकाबारे स्थापित परिभाषा, विद्यालयको भूमिकाबारे दिइएको परिभाषा अथवा व्यक्तिगत सम्बन्धहरूका नाम, सीमा र परिभाषा ती सबैका सम्बन्ध र भूमिका तथा अपेक्षाहरूमा व्यापक परिवर्तनहरू देख्न सकिन्छ । चाहे त्यो अभिभावक र छोरा छोरीबिचको सम्बन्धको कुरा गरौं वा शिक्षक र विद्यार्थीबिचको वा तिनका साथीहरू बिचको अब प्रश्न यो उठ्छ कि ती परिवर्तित अवस्थालाई बुझ्न र बुझाउन अनि त्यस अनुरूपको समय सान्दर्भिक अपेक्षाहरू पूरा गर्न आवश्यक पूर्वाधारहरू निर्माण गरिएको छ ? कसले कसरी के गर्ने, यसबारे केही स्पष्टता छ ?

पछिल्लो समयमा छात्र (छात्राहरूका रुचिमा देखिएका समानताहरू बढ्दो छ चाहे त्यो पठनपाठनका विषय चुन्ने कुरा होस् वा विद्यालयमा रहेको अतिरिक्त क्रियाकलापमा सहभागिताको यसप्रति अभिभावकका तर्फबाट पनि कुनै विशेष परिस्थिति बाहेकका अवस्थामा सकारात्मक सहयोग हुने गरेको देखिन्छ्र तर यथास्थितिवादी पितृसत्तात्मक सोचले ग्रसित मानसिकता बोकेका विद्यालयसँग सम्बन्धित व्यक्तिहरू आफू र आफ्नो सोच परिमार्जन गर्न नसक्दा बेलाबखत शिक्षाजस्तो महत्वपूर्ण भूमिका निर्वाह गर्न बसेका संस्थाले अनेक आक्षेप र अपमान सहनु पर्ने अवस्था बढ्दो छ ।

यसप्रति विद्यालय अत्यधिक संवेदनशील बन्न जरुरी छ । यसका लागि हुन त विद्यालयहरूले आ–आफ्नो सामाजिक धरातल, स्रोत साधनको उपलब्धता, विद्यालयमा संलग्न मानव स्रोतको क्षमताका आधारमा आफू अनुकूलका विविध उपायहरूलाई अवलम्बन गर्न सक्छन् तर पनि केही यस्ता प्रयासहरू जुन हरेक विद्यालयले गर्न सक्छन् र गर्न अनिवार्य पनि छ त्यो भनेको लैंगिक संवेदनशील बढाउँदै लैंगिक विभेद हटाउन भूमिका खेल्न सकिन्छ ।

जसका लागि हरेक विद्यालयले कम्तीमा वर्षको एकपटक आफ्ना सम्पूर्ण कर्मचारी तथा विद्यार्थीहरूलाई लैंगिक संवेदनशीलता बढाउन सहयोग पु-याउने किसिमका प्रशिक्षण गराउने, आफ्नो विद्यालयमा यौन हिंसा विरुद्धका रणनीति र कार्यदिशा सबैले स्पस्ट बुझ्ने गरी तयार पार्ने, विद्यालयमा यौन हिंसासँग सम्बन्धित विषय हेर्ने जिम्मा कुनै सक्षम अधिकार प्राप्त व्यक्तिलाई दिने, यस्ता विषयउपर छिटोभन्दा छिटो प्रक्रिया अघि बढाउँदै परिणाम आउने गरी संरचना निर्माण गर्ने र सबैभन्दा महत्वपूर्ण भनेको विद्यालयसँग सम्बन्धित सबैले यौन हिंसामा पीडित होइन पीडकले लाज मान्नु पर्छ भन्ने वातावरण निर्माण गर्नेजस्ता विषयहरूलाई लिन सकिन्छ ।

तर, बिडम्बना यस्ता विषयहरू उपर विद्यालयले छलफल गर्ने र आवश्यक रणनीति तयार गर्ने काम बिरलै गरेको भेटिन्छ । जसले गर्दा यौन हिंसाप्रतिको सचेतना र पीडकको मनमा डर दुवैको कमी निरन्तर भइरहेको छ । परिणामस्वरूप हरेक दिन बालबालिकाहरू यस्ता घटनाका शिकार हुन बाध्य छन् र राज्य निरीह झैं देखिन्छ ।त्यसो भए के गर्नेतर्फ विचार गर्ने हो भने सर्वप्रथम हरेक विद्यालयले यौन हिंसा विरुद्धका नीति र कार्ययोजना बनाउनु अनिवार्य छ । त्यसका साथै विद्यालयसँग सम्बन्धित हरेक व्यक्तिलाई त्यसको बुझाइबारे स्पस्टता गराउनु पनि विद्यालयको दायित्वभित्र राखिनु पर्छ । अर्थात् हरेक विद्यार्थीदेखि लिएर शिक्षक कर्मचारी सबैलाई लैंगिक संवेदनशीलतासम्बन्धी कार्यशालामा सहभागी गराउँदै बुझाइको साँगुरो घेरालाई फराकिलो पार्न सहयोग गर्न जरुरी देखिन्छ ।

ताकी तिनका सोच, व्यवहार र गतिविधिलाई स्वयम अनुशासनभित्र राख्न सजिलो होस् । त्यसपछिको प्रक्रिया भनेको विद्यालयमा यौन हिंसालाई शून्य सहनशीलताको सिद्धान्तमा आधारित रही अगाडि बढाउनु पर्छ ताकि गलत मनशाय बोकेकाहरू त्रसित बनुन् र पीडितले पीडित हुनुपूर्व नै पाएका संकेतहरू सम्बन्धित ठाउँमा निर्धक्कसाथ बुझाउन सकून् र विद्यालय भनेको पवित्र ठाउँ हो भन्ने बुझाई र अनुभूति सबैमा रहिरहोस् । यदि होइन भने आउँदा दिनहरूमा अवस्था झन् झन् जटिल हुने देखिन्छ जहाँ पीडितका संख्या र पीडा बढ्दै जाने र कतिपय अवस्थामा केही बेइमान मष्तिष्कहरूले आफू अनुकूल परिस्थितिबाट स्वार्थ सिद्ध गर्न सक्ने अवस्था सिर्जना हुने सम्भावना बढ्छ । त्यसैले यसमा विद्यालय र समुदाय दुवैको सहकार्य र सम्बन्धित सबैको साझेदारी अपेक्षित छ ।

प्रतिक्रिया दिनुहोस्