लमजुङमा बर्खे धान रोपाई शुरु

0
Shares

लमजुङ ।

लमजुङमा पर्याप्त सिँचाईको व्यवस्था भएका विभिन्न भागहरुमा बर्खेधान रोपाई शुरु भएको छ । सिँचाई समस्या नभएका खोला तथा ढाप खेतहरुमा धान रोपाई शुरु भएको हो ।

जिल्लामा करिव १६ हजार हेक्टर क्षेत्रफलमा बर्खे धान लगाउने कृषि कार्यलयको दावि छ । जिल्लामा मस्र्याङदीको घेर्मु, ताघ्रिङ, राईनास, मध्यनेपाल, बेसीशहर लगायतका ठाउँहरुमा धमाधम रोपाई शुरु भएको छ ।

कृषि ज्ञानकेन्द्र लमजुङका सुचन अधिकारी मदन रेग्मीका अनुसार जिल्लाका ४५ हजार बढि हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य मध्ये करिव १६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । जिल्लाका उत्तरी भेग तथा पाखा खेतहरुमा भने साउनको दोश्रो सातासम्म पनि रोपाई हुने गर्दछ ।

यसवर्ष असार नलाग्दै मनसुन शुरु भएकोले अन्य स्थानहरुमा पनि खेत रोपाई शुरु हुने बुझिएको छ । सुचन अधिकारी रेग्मीका अनुसार पछिल्ला वर्षहरुमा श्रमशक्ती र रोपाईको लागी गोरुको अभाव हुँदै आएको छ । गोरुको अभाव भएसँगै अधिकाँश कृषकहरुले पछिल्ला वर्षहरुमा हाते ट्याक्टरको प्रयोगबाट पनि खेत रोप्दै आएका छन् ।

जिल्लाका किसानले सुनौलो सुगन्ध, रामधान, जेठोबूढो, एक्ले, सुख्खा २, सावित्री, लोकतन्त्र, गोरखनाथ, युएस ३१२, मकवानपुर, मनसुली लगायत जातका धान लगाउँदै आएका छन् । जिल्लामा वार्षिक ५० हजार भन्दा बढि मेट्रिक टन धान उत्पादन हुने कृषि कार्यलयको दावि छ । सिञ्चाइको ब्यवस्था थप गर्नसके जिल्लामा धान खेती पनि विस्तार सकिने प्राविधिकहरु बताउछन् । जिल्लामा करिव एकहजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती हुँदै आएको छ ।