काभ्रे ।
निरन्तर बजार मुल्य बढ्दै गए पछि उपभोक्ताहरु आफैले प्रशासनमा उजुरी गर्न थालेका छन् । उपभोक्ताहरुको उजुरीका आधारमा एघार पसलमा अनुगमन गरिएको छ । उपभोक्ताहरुले खाने तेल, चामल तथा अन्य खाद्यान्नहरुमा किन्ने र विक्री गर्ने मुल्य फरक फरक भएकाले मर्कामा परेको भन्दै प्रमुख जिल्ला अधिकारीलाई उजुरी गरेका थिए ।

‘उपभोक्ताहरुले बनेपामा भएका केहि पसलहरुले चर्काे मुल्यमा खाद्यान्न लगायतका सामाग्री विक्री गरेको लिखित उजुरी गरेका थिए’–सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले भन्नुभयो–‘उपभोक्ताको उजुरी नहुँदा पनि नियमित बजार अनुगमन हुने गरेको थियो । उजुरी नै परेपछि आकस्मिक रुपमा उजुरी परेका पसल र अन्यमा पनि अनुगमन गरिएको हो ।’ अनुगमनका क्रममा उजुरी परेको पसल गोल्मादेवी अडर एण्ड सप्लायर्स बनेपा नगरपालिका ७ बाट चिउरा २२ बोरा, चामल ६ बोरा र मैदा २ बोरा जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामप्रसाद कुस्माले बताउनु भयो । बरामद गरिएको सामानको मुल्य ४६ हजार ५ सय रहेको छ । उक्त पसललाई पहिलो पटकलाई १० हजार रुपैया जरिवना गरिएको कुस्माले बताउनु भयो ।

उपभोक्तालाई अत्यावश्यक चामल, चिउरा, चिनी, तेल, दाल तथा गेडागुडीहरुमा मुल्य आकासिएको छ । जिल्ला बजार अनुगमन समितिले खाद्यान्न पसल २ वटा, होटल ६ वटा, प्रेस १ वटा र पानी उद्योग २ वटाको अनुगमन गरेको थियो । खाद्यान्न पसलहरुमा मुल्य सुची लगायतका न्युनतम मापदण्ड पनि पुरा नगरेको, म्याद नाघेका सामानहरु राखेको, गोदामको सरफाई नगरेको, होटलहरुले भान्सामा प्रयोग गर्नु पर्ने आवश्यक पुर्वाधार तथा सरसफाई नगरेको, मुल्य सूची नभएको, दर्ता तथा नविकरण नगरेको पाईएको सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले बताउनु भयो ।

खानेपानी उद्योगमा भएको अनुगमनमा उत्पादन मिति प्रस्ट नराखेको, पुराना जार प्रयोग गरेर उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको, पानीको गुणस्तरमा ध्यान नदिएको पाईएको कुस्माले बताउनु भयो । अनुगमन गरिएका पसलहरुलाई सचेत गराउँदै उपभोक्ताहरुको हितमा ध्यान दिन निर्देशन दिईएको सहायक प्रमुख जिल्ला अधिकारी सुनारले बताउनु भयो । अनुगमनमा काभ्रे उद्योग बाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोके लगायतको सहभागिता रहेको थियो ।












प्रतिक्रिया