असार १ गतेदेखि मतदाता नामावली संकलन

0
Shares

काठमाडौं ।

निर्वाचन आयोगले आगामी असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य शुरू गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सो अद्यावधिक गर्न लागिएको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम शुरू हुन लागेको आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।सो नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागरिकले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आफ्नो नाम दर्ता गराउन सक्ने आयोगले स्पष्ट पारेको छ ।

‘यस कार्यक्रमअन्तर्गत नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ’ –प्रवक्ता पौडेलले भन्नुभयो ।आयोगबाट वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम छुटेको व्यक्तिहरूले समेत मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने प्रवक्ता पौडेलको भनाइ छ ।

पेसा, व्यवसायको कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको तर आफ्नो स्थायी ठेगाना अर्को जिल्लामा रहेको भएमा त्यस्तो व्यक्तिले नाम दर्ताको लागि आवश्यक प्रमाणसहित आफू रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिएमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता दर्ता कार्यक्रमसमेत सञ्चालन हुने आयोगले जनाएको छ । आगामी निर्वाचनमा कोही पनि नछुट्ने गरी आफ्नो नाम दर्ता गर्न तथा विवरण अद्यावधिक गर्न आयोग सबैमा आग्रह गरेको छ । कार्यक्रमलाई सबै राजनीतिक दल तथा सरोकारवालाले आफ्नो क्षेत्रबाट सहयोग गरिदिन पनि आयोगले अपिल गरेको छ ।