काठमाडौं ।
–साउन १ गतेदेखि इम्बोस्ट नम्बर अनिवार्य नहुने
–पाँच वर्षमा २५ हजार सवारीसाधनमा इम्बोस्ड नम्बर जडान
–झन्झटिलो र खर्चिलोका कारण आकर्षण बढेन
साउन १ गतेदेखि इमबोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सडकदेखि संसद्सम्म विरोध भएपछि यातायात व्यवस्था विभाग पूर्ववत् निर्णयबाट पछि हटेको छ ।नागरिक स्तरबाट चौथर्फी दबाब भएपछि यातायात व्यवस्था विभागले साउन १ गतेदेखि सबैलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको बताएको हो । इम्बोस्ड नम्बर प्लेट जडानको समयावधि असार मसान्तसम्म मात्रै दिएको विभागले त्यसको व्यापक आलोचना भएपछि त्यस विषयमा माफीसमेत मागेको छ ।
विभागले पाँच वर्षको अवधिमा २५ हजार सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गर्ने काम सम्पन्न भएको छ । यातायात व्यवस्थाले २०८० मंसिरसम्ममा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गर्ने जडानकर्ता कम्पनीसँग सम्झौता गरेको छ । झन्झटिलो र महँगो भएका कारण सवारी धनीहरूले इम्बोस्ड नम्बर जडानमा इच्छा देखाएका छैनन् । यातायात व्यवस्था विभागले गण्डकी र वागमती प्रदेशमा साउनअघि नै इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्नुपर्ने सूचना जारी गरेपछि चौतर्फी रूपमा विरोध भएको छ ।
विभागले मंगलबार पाँच पाना लामो विज्ञप्ति जारी गर्दै सुरुवातमै माफी माग्दै तत्कालका लागि सबैलाई अनिवार्य गरिएको नभई पहिले नै बाध्यकारी बनाएको सरकारी निकायलगायतलाई मात्रै अनुगमन गर्न खोजिएको बताएको छ ।‘सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सम्बन्धमा विभागको २०७९ जेठ २० गते प्रकाशित सूचनाबाट आम सेवाग्राहीमा पर्न गएको दुविधा र त्यसबाट उत्पन्न भएको असुविधाप्रति यातायात व्यवस्था विभाग क्षमायाचना गर्दछ’ –विज्ञप्तिमा भनिएको छ ।
सरकारले २०७८ कात्तिक २२ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाको परिपूरक सूचना भएको व्यहोरा स्पष्ट गरिएको बताउँदै विभागले २०७९ जेठ २० गतेको विभागको सूचना मिति २०७८ कात्तिक २२ गतेको राजपत्रको सूचनाको निरन्तरता मात्र भएको उल्लेख गरेको छ ।
यायायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले सम्झौताअनुसार २४ लाख ७५ हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाँकी रहेको बताउनुभयो । विभागका तथ्यांकअनुसार हाल देशभर झन्डै ४९ लाखभन्दा बढी सवारीसाधन रहेको छ । भुसालले भन्नुभयो– ‘विभागले जबरजस्ती इम्बोस्ड नम्बर प्लेट लडान गर्न खोजेको होइन, सरकारले राजपत्रमा प्रकाशित गरेको विषलाई कार्यान्वयन गर्न खोजिएको मात्र हो ।’ उहाँका अनुसार नयाँ सवारीसाधन र नवीकरण गर्ने सवारीसाधनका लागि भने इम्बोस्ड नम्बर अनिवार्य गरिएको छ । प्रवक्ता भुसालले काठमाडौं उपत्यकासहित विभिन्न दश स्थानमा आरआईएफ गेट निर्माण गर्नका लागि तयारी अवस्थामा रहे पनि भौतिक तथा यातायात मन्त्रालयले अनुमति नदिँदा काम अघि बढ्न नसकिएको बताउनुभयो ।











प्रतिक्रिया