भेटघाट गर्नका लागि यत्रो मत दिएर बालेन्द्र शाहलाई मेयर जिताएको हो ?



नवनिर्वाचित जनप्रतिनिधिहरूले आफ्नो पदभार सम्हालेको पनि धेरै दिन बितिसकेको छ । जनताद्धारा प्रतिक्षित जनप्रतिनिधिहरू आइसकेका छन् ।

सबै स्थानीय तहको मुहार फेरिएको छ । अब जनप्रतिनिधिले जनताको अपेक्षा अनुसार काम गर्न सक्छन् कि सक्दैनन् यो हेर्न मात्र बाँकी छ । कुनैले आउन नपाईकन आफ्नो भड्किलो तौरतरिका देखाइसकेका छन् । शपथ ग्रहण कार्यक्रममै पैसाको खोलो बगाइएको पनि देख्न पाइयो । आफ्नो आफन्तलाई बोलाएर देखाउने काम पनि नभएको होइन् ।

जनताले तिरेको करबाट शपथ कार्यक्रममा चिसोदेखि तातोसम्मको व्यवस्था गरियो । हालसालै निर्वाचित भएका मेयर र वडाध्यक्षले आफ्नो पृष्ठभुमिसमेत बिर्सिएनन् । छेउछाउमा गुण्डा राखेर शपथ लिए । उनीहरूको पेशा र रूप त्यतिखेर नै जनताले देखिहाले । पार्टीलाई पैसा खुवाएर टिकट त लिए । पैसाकै आडमा मेयर र वडाध्यक्ष पनि जिते । तर, तिनीहरूसंग काम गर्ने क्षमता छ चाहि के ?

हिजो दलाली गर्ने जान्नेले भोलि पनि त्यही पेशा अगाल्ने हो । गुण्डागर्दी गर्नेलाई थर्काउनेबाहेक अरु केही आउदैन् । हिजोको दिनमा थर्काएर र ठगेर कमाएको पैसाको प्रयोग गरेर जनप्रतिनिधि बनेकासंग कुनै योजना छैन् । एउटा वडाध्इक्ष जितेका छन् तर घमण्ड हेप्यो भने प्रधानमन्त्रीको भन्दा पनि बढी छ । झन् मेयरमा राष्ट्रपतिभन्दा पनि बढी अहंकार आएको देख्न सकिन्छ ।तर, हामीभन्दा ठूलो जनता हो । हामी जनताको मालिक होइन सेवक हो भन्ने भाव यिनीहरूमा देखिएको छैन । मानौं, यति छुट्याउनका निम्ति यिनीहरूसँग दिमाग पनि छैन । जनताले तिरेको करबाट कसरी दरबार ठड्याउला ? ठेकेदारहरूबाट कसरी कमिसन खाने ? आफन्तलाई कसरी सरकारी जागिरमा छिराउने ? नवनिर्वाचित जनप्रतिनिधिहरूको ध्यान त्यतातिर मोडिएको छ ।

पानीको मुहान नै सफा छैन भन्ने गाग्री सफा गरेर गर्नु ! गाग्री नै फोहोर पारिदिन्छ । तर, यसमा गाग्री त दोषी होइन । राजनीतिक पार्टीका शीर्ष नेता नै गतिलो नभईपछि राम्रोले टिकट पाउनु कल्पनाबाहिर कै कुरा हो । यो नेपालीका लागि कुनै नौलो विषय पनि रहेन । पार्टीबाट आजित भइसकेका काठमाडौं महानगरपालिकाका जनताले स्वतन्त्र उम्मेदवार चुने । पार्टीबाट जो उठे पनि महानगरको स्वरूप नबद्लिएपछि उनीहरूले नयाँलाई ठाउँ दिए ।पार्टीलाई विश्वास नगरेर स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहलाई सबैको मेयर बनाए । ६१ हजार सात सय ६७ भोट ल्याएर मेयर पदमा बोलन्द्र शाह आए । तर, यत्रो मत टोकरीमा फालेर मेयर शाह यताउता डुल्नमै व्यस्त छन् । मतदातालाई विश्वासघात गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनलाई भ्याइनभ्याइ छ । जनताको काम गर्न छाडेर आशीर्वाद थाप्न मेयर शाह दौडधुप गरिरहेका छन् ।

महानगरवासीले देउवालाई भेटन् जाऊ भनेर भोट दिएको हो ? ओलीलाई ढोग्न जान यत्रो भारी मत दिएर विजयी बनाएको हुन् ? निवर्तमान मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबाट वाक्कदिक्क भएपछि जनताले उनलाई भोट दिएको छर्लङ्ग छ । बालेनले केही काम गर्छ कि ! महानगरको रूप फेरिन्छ कि भन्ने आशाका साथ मतदाताले उनलाई चुनेका छन् ।रातदिन नभनी महानगरको स्याहारसुसार गर्ने अभिभावक काठमाडौंवासीलाई चाहिएको हो । दश दुनियाँ डुल्दै हिड्ने मेयर खोजेका होइनन् । यस्तै पारा हो भने अर्को चुनावमा बालेनको हालत केशव स्थापित र सिर्जना सिंहभन्दा पनि गएगुज्रिएको हुने निश्चित छ । बालेनसँग कतिको क्षमता कति रहेछ भन्ने कुरा महानगरको पहिलो बैठकबाट जनतामाझ स्पष्ट भइसकेको छ ।

पहिलो बैठकमा वडाध्यक्षहरूले मेयरलाई पेल्नु पेलेका थिए । मेयरभन्दा वडाध्यक्ष शक्तिशाली रहेछन् भन्ने कुरा सबैले बुझिसकेका छन् । अब मेयरको दारी र चस्माले जादु देखाउनेवाला छैन । अब यी दुई चीज होइन काम हेर्ने दिन आइसकेको छ । गीत गाएको र सञ्चारमाध्यममा अन्तर्वार्ता दिएकोजस्तो सहज छैन मेयर पद । आफ्नो मनमर्जीले महानगर चलाउँछु भनेर सोच्नु नै गलत ठहरिन्छ ।आउन पाएको साता दिन नबित्दै काठमाडौंको मेयरको क्षमतामा प्रश्न उठ्न थालिसकेको छ । उनले ६ महिना पनि मेयर पद सम्हाल्न नसक्ने जनताहरूको ठम्याइ छ । देउवा र ओलीले मेयरको खुट्टा तान्ने योजना बनाइसकेको बुझिएको छ । एकातिर मेयरलाई माला लगाएको गर्ने अर्कोतिर आफ्नो पार्टीबाट चुनाव जितेका वडाध्यक्षहरूलाई मेयरलाई काम गर्न नदिनु भनेर निर्देशन दिइसकेका छन् ।

मेयरले गरेको निर्णय जसरी पनि अवरोध गर्न पार्टी अध्यक्षहरूले भनिसकेका छन् । बुढापाखाले भन्छन् ‘नपत्याउने खोलाले बगाउँछ’ । अहिलेको मेयर बालेन्द्र शाहको हकमा पनि त्यही भएको हो । आफू मेयर हुन्छु भनेर शाह आफंैमा विश्वस्त थिएनन् । तर, तिर ठ्याक्कै निशानामा प¥यो । मेयर जित्न होइन चर्चामा आउन उनले उम्मेदवारी दिएका थिए । काठमाडौंवासीहरू नयाँ विकल्पको खोजीमा भइरहेको बेला बालेनलाई चिठ्ठा परेको छ ।मेयर बालेनले पनि मौकामा चौका हाने । नयाँ व्यक्तित्वको खोजीमा रहेका काठमाडौंवासीले बालेनलाई चुनेका हुन् । मेयरले काम गर्न सक्दैन भन्ने कुरा अहिले सार्वजनिक बहसकै विषय बनिसकेको छ । सार्वजनिक स्थल, चियागफ जताततै यही विषयमा चर्चा चलेको छ । मेयर पद पाउनेबित्तिकै नेपाली सेनाको प्रधानसेनापतिलाई गए भेट्ने । राजनीतिक दलको ढोका ढक्ढक्याउन पुग्ने ।

यस्तो पनि मेयर हुन्छ ? उमेर पनि कलिलै भएर होला उनले ठाउँ ठम्याउन नसकेको । आफू कुन दिशामा जाने उनी अझै पनि अलमल्ल परेका छन् । कहाँबाट कामको थालनी गर्ने उनीसँग सुरसार नै छैन । मेयर भएपछि राजनीतिक दल र नेपाली सेनाको प्रधानसेनापति भेट्न जाँदा बालेनलाई के–के गरेको अनुभूति भएको होला । तर, भोट दिने मतदाताहरू उनलाई देखेर धिक्कार मान्न थालिसकेका छन् ।आफ्नो मत फेरि पनि कतै खेर त जाने होइन भन्ने शंका उनीहरूलाई लागिसकेको छ । यता, अन्य वडाध्यक्षले पनि यही रूप देखाए । हामी तलबभत्ता खादैनौं । सरकारी गाडी चढ्दैनौं । भ्रष्ट्राचार गर्दैनौं भनेर मत लिएका थिए । तर, व्यवहारमा सो कुरा लागु भएन । अहिले उनीहरू सरकारी गाडी पनि चढ्छन् कमिसन पनि खान्छन् । जनताको कामचाहिँ गर्दैनौं ।

नेकपा माओवादी पार्टीले निर्वाचित जनप्रतिनिधिलाई धमाधम तालिम दिइरहेको छ । जनप्रतिनिधिलाई सिकाउने तालिम भन्दै मुलुकभरका वडाध्यक्ष र मेयरलाई काठमाडौं ल्याइएको छ । यतिबेलै कति जनतालाई नागरिकताको खाँचो परेको होला ? जन्मदर्ता बनाउन वडाध्यक्षको सिफारिस चाहिएको होला ? तर, यसले ती जनप्रतिनिधिलाई केही फरक पारेको छैन ।जनताको काम नै छोडेर घुमफिर गर्न काठमाडौं आएका छन् । जनताले तिरेको कर खर्च गरेर उपत्यका भित्रिएका छन् । उनीहरूकै खर्चमा होटलमा बस्ने र मोजमस्ती गर्ने काम पनि भएको छ । भोलि १० हजार खर्च लाग्यो भने एक लाखको बिल पेश गर्छन् । २०६४ सालमा सबैभन्दा बढी भोट पाएर नेकपा माओवादी पहिलो पार्टी बनेको थियो ।

तर, देश चलाउन नसकेर बिचमै प्रधानमन्त्री पदबाट पुष्पकमल दाहालले राजीनामा दिएको कुरा जनताले बिर्सिएका छैनन् नि ।पछि कांग्रेसको सहयोगमा फेरि प्रधानमन्त्री हुँदा काम गर्न नसकेको पनि जनतालाई स्मरण नै छ । आफ्नो पार्टीबाट पटकपटक सरकारमा गएका मन्त्रीले काम गर्न नसकेको अझै पनि छर्लङ्ग छ । अब माओवादीका निर्वाचित जनप्रतिनिधिले काम गर्लान् भनेर जनताले विश्वास गर्छन् ? दुई दिने तालिम दिएर जनप्रतिनिधि क्षमतावान हुन्छन् ? कांग्रेसको वैशाखी टेकेर माओवादीले केही स्थानीय तहमा विजयी हासिल गरेको छ ।

कांग्रेसको पछि नहिँडेको भए माधव नेपालको जस्तै हाल माओवादीको हुन्थ्यो । अब उनको योजना भनेको जसरी हुन्छ प्रधानमन्त्री पद खानु हो । त्यसका लागि एमालेसँगै मिल्न किन नपरोस् । केपी ओलीको हालत त सबैले देखिसकेका छन् । कांग्रेसले जित्छ कि भन्ने डर एमालेमा पनि छ । एमालेका नेताहरू जसरी हुन्छ दाहाललाई फकाउने कोसिस गरिरहेका छन् ।कांग्रेससँग गठबन्धन छोड्न उनले तारन्तार भनिरहेका छन् । कांग्रेसले दाहाललाई कहिल्यै पनि चिन्न सकेन । अब दाहाल र एमाले मिलेर कांग्रेसको सरकार ढाल्ने निश्चित छ । त्यसैले माओवादी घर न घाटको भएको हो । कहिले यता कहिले उता । न दाहालको बोलीको ठेगान छ न उनको । आज यता टाँसिने भोलि उता लहसिने ।
अनुसा थापा, भक्तपुर

प्रतिक्रिया दिनुहोस्