त्रिविमा राजनीति



सरकारले सेन्टर अफ एक्सिलेन्स बनाउने निर्णय गरेको जेठो विश्वविद्यालयको अवस्था जर्जर बन्दै गएको छ । सरकारकै वेवास्ताको शिकार बनेको त्रिभुवन विश्वविद्यालय तिरन्तर तालाबन्दीको मारमा छ ।

आफ्नै विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले तालाबन्दी गर्दा विश्वविद्यालयका कुलपति एवं प्रधनमन्त्री शेरबहादर देउवा टुलुटुलु हेरिरहनुभएको छ । उहाँले तत्कालीन प्रधानमन्त्री केपी ओलीले नियुक्त गरेका पदाधिकारीलाई विश्वविद्यालयमा राख्न चासो देखाउनुभएको छैन । गृहमन्त्री वालकृष्ण खाड र सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले समेत ताला खोल्न चासो दिनुभएको देखिंदैन । उहाँहरु सबैको साझा चाहना नै पदाधिकारीलाई राजीनामा गराउने र आफ्नालाई नियुक्ति दिने रहेको आरोपको खण्डन गर्ने आधार उहाँहरुमा देखिन्न ।

सेन्टर अफ एक्सिलेन्स घोषणा गरेपछि बजेट व्यवस्था गरिरहँदा करिब पाँच महिनादेखि तालाबन्दी हुँदा चुप लागेर बस्नु आश्चर्य मानिएको छ । यही १८ गते नेकपा क्रान्तिकारीले ताला फोड्दा सबै खुसी थिए । ताला फोडेका पार्टीका नेता खोज्न कुद्ने प्रहरी प्रशासन फेरि ताला लगाउनेमाथि कारबाही गर्न सकिरहेको छैन । यसरी हेदा त्रिभुवन विश्वविद्यालयको राजनीतिमा प्रहरी पनि मुछिन पुगेको छ । सुरक्षा निकाय त्रिबि जोगाउन भन्दापनि सत्ताको आडमा चल्न बाध्य बनिरहेको पो हो कि भन्ने आशंका सिर्जना भएको छ ।

तीन पदाधिकारीको मूलगेटमा तालाबन्दी गरेको साढे चार महिनापछि चारदिन अघि नेकपा क्रान्तिकारीले ताला फोडेको थियो । वार्ता र सम्वादबाट समस्या समाधान गर्न छाडेर ताला लगाउनु अनैतिक हर्कतको संख्या दिदै फेरि तालाबन्दी नगर्न चेतावनी दिएको भोलिपल्ट नेविसंघल् ताला लगाउनु र सरकार चुप लागेर बस्नुले सरकारको कमजोरी देखाउँछ । नेविसंघले गएको माघ ७ गते उपकुलपति प्राडा धर्मकान्त बास्कोटा, रजिष्ट्रार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुषालको कार्यालयको मुख्य प्रवेशद्वार र कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

नेविसंघ त्रिबि एकाइले जनकपुरस्थित युथ क्याम्पसमा बिसिए (ब्याचलर अफ कम्प्यूटर एप्लिकेशन) कार्यक्रमको सम्बन्धन दिदा त्रिबिका कर्मचारीले घूस मागेको र घूस नदिएपछि सम्बन्धन खारेज गरेको आरोप लगाउँदै पदाधिकारीको कार्यालयको मूलगेटमा तालाबन्दी गरेका थिए । त्रिविले छानबिन समिति गठन गरी दोषीमाथि कारबाही गर्ने जनाइसकेको छ । राजनीतिक रुपमा रिस पोख्न पार्टीकै निर्देशनमा फेरि तालाबन्दी भएको कर्मचारीको आरोप छ । तालाबन्दीको कारण कर्मचारीले तलब खान नपाउने अवस्था पुगेको छ । बजेट निर्माण गर्ने समयमा तालाबन्दी हुँदा त्रिविको सबै कार्यक्रम भद्रगोल हुने अवस्थामा पुगेको छ ।

तालाबन्दीको कारण तीन पदाधिकारीको कार्यालयमा रहेका झण्डै दुई दर्जन कार्यालयका करिब चार सय कर्मचारी हाजिर गरेर घर फर्कने गरेका छन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले वार्ता गरेर समस्या समाधान गर्ने प्रयास नगरेको होइन । तर पदाधिकारीको राजीनामा बाहेक अन्य विकल्प हुन नसक्ने अडान राखेपछि वार्ता भाडिएको थियो ।लगातार बन्दको कारण त्रिविको साख गिर्दो अवस्थामा पुगेको छ । सरकारले घोषणा गरेको सेन्टर अफ एक्सिलेन्स कार्यान्वयन गर्न नसक्ने अवस्थामा पुगेको छ । राजनीतिक दलहरुले मेरा मान्छे र तेरा मान्छे भनेर हेरेकै कारण बारम्बार यस्ता समस्या सिर्जना भइरहेका छन् । विविमा राजनीति कहिलेसम्म ?

प्रतिक्रिया दिनुहोस्