म्याग्दीका सबै पालिकामा कार्यपालिकाको निर्वाचन सकियो

0
Shares

म्याग्दी ।

गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनअन्तर्गत हिमाली जिल्ला म्याग्दीको छ वटै स्थानीय तहमा कार्यपालिकाको निर्वाचन सकिएको छ । जिल्लाको एक नगरपालिका र पाँचवटा गाउँपालिकामा कार्यपालिकाको निर्वाचन सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यपालिकाको निर्वाचनअनुसार बेनी नगरपालिकामा वर्तमान सत्तापक्षीय गठबन्धन दलको तर्फबाट महिला सदस्य पदमा नेकपा माओवादी केन्द्रका मिनाकुमारी कार्की, नेपाली कांग्रेसबाट सृजना श्रेष्ठ, निर्मला मल्ल, सुजता किसान र बविता सापकोटा निर्वाचित हुनुभएको छ । यसै गरी दलित वा अल्पसंख्यकतर्फ कांग्रेसका मनकुमारी विक, माओवादीबाट किसान विश्वकर्मा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष कृष्णकुमार विश्वकर्मा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाली कांग्रेसकी सम्झना परियार र नेकपा माओवादी केन्द्रका होमबहादुर दर्जी दलित अल्पसंख्यक सदस्यमा निर्वाचित हुनुभएको छ । महिला सदस्यतर्फ कांग्रेसका प्रिती गर्बुजा, कुमारी पूर्जा गर्बुजा, धनमाया घताने गोतामे र सोमिता पुन निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालय रघुगंगा गाउँपालिकाका सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।
त्यस्तै, अन्नपूर्ण गाउँपालिकामा वीरबहादुर पौडेल र मिठु विक, दलित अल्पसंख्यकतर्फ तथा देवकुमारी पुन, गेममायाँ पुन, विष्णुकुमारी गर्बुजा र आशा गुरुङ महिला सदस्यतर्फ नेकपा एमालेबाट कार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताउनुभयो ।

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकामा गठबन्धन दलबाट कांग्रेसका फुलमायाँ बुढाथोकी, माओवादी केन्द्रका डिलकुमारी विक, नरकुमारी बुढाथोकी र सीताकुमारी छन्त्याल एवं दलित तथा अल्पसंख्यकतर्फ कांग्रेसका भविन्द्र छन्त्याल र स्वतन्त्र उम्मेदवार देउप्रसाद छन्त्याल पुनः निर्वाचित हुनुभएको धवलागिरि गाउँपालिकाको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले बताउनुभयो ।
मालिका गाउँपालिकामा महिला सदस्यतर्फ एमालेका मनकुमारी पुनः, प्रतीक्षा वि.क, छरदेवी घर्ती र नेकपा माओवादी केन्द्रका देवी पटेल निर्वाचित हुनुभएको छ । दलित तथा अल्पसंख्यकतर्फ माओवादीका दलबहादुर खड्काथोकी र नेकपा एकीकृत समाजवादीका अनुप गौचन निर्वाचित हुनुभएको छ ।

मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा दलित तथा अल्पसंख्यकतर्फ एमालेबाट टेकबहादुर किसान र शंकर शेरचन निर्विरोध निर्वाचित हुनुभएको छ भने महिला सदस्यमा एमालेबाटै डिलकुमारी खत्री, सरस्वती उपाध्याय, भूमिसरा बुढाथोकी र तिलकुमारी खत्री निर्वाचित हुनुभएको मंगला गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।स्थानीय तह निर्वाचनमा एमालेले बेनी नगरपालिकामा मेयरसहित अन्नपूर्ण, मंगला र मालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजय हासिल गरेको थियो । कांग्रेसले रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा धवलागिरि गाउँपालिकाको अध्यक्ष र माओवादीले बेनी नगरपालिकाको उपमेयर तथा धवलागिरिको उपाध्यक्षमा विजयी भएको थियो ।

एक नगरपालिका, ५ वटा गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीमा एमालेले ४ वटा पालिकासहित २२ वटा वडा,कांग्रेसले २ वटा पालिकासहित १७ वडा र माओवादीले २ पालिकाको उपप्रमुखसहित ६ वटा वडामा चुनाव जितेको छ ।