नेपाल क्यान्सर अस्पतालको पाँचाैं वार्षिकोत्सव सम्पन्न

0
Shares

काठमाडौं । 

‘नेपालीको क्यान्सर उपचार नेपालमा नै’ भन्ने मूल नाराका साथ स्थापना गरिएको नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर हरिसिद्धिको पाँचाैं वार्षिकोत्सव शुक्रबार विविध कार्यक्रमका साथ मनाइयो ।

अस्पतालका संस्थापक तथा कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले नेपालकै उत्कृष्ट क्यान्सर अस्पतालको रूपमा अन्तर्राष्ट्रिय स्तरको सेवा नेपालमा नै उपलब्ध गराउने मूल उद्देश्यका साथ अस्पतालको स्थापना भएको बताउनुभयो । अस्पतालको उद्देश्य प्राप्तिका लागि केयर वीद् एक्सिलेन्स नाराका साथै सेवा र सुविधा उपलब्ध गराउँदै आएको कारण धेरै नेपालीले क्यान्सर उपचारका लागि विदेशीनु नपरेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘यी नै दृढ संकल्पलाई सार्थक बनाउन लागि पर्ने यस अस्पताल परिवारको लगनशीलताकै कारण आज नेपालको क्यान्सर अस्पतालले विश्व सामु आफ्नो पहिचान बनाउन सफल भएको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सविच डा. रोशन पोखरेलले नेपाल क्यान्सर अस्पतालले परिकल्पना गरेको नेपालीको क्यान्सर उपचार नेपालमा नै भन्ने मूल नारालाई केही हदसम्म पूरा गरेको र अझै धेरै गर्न बाँकी रहेको बताउनुभयो । उहाँले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यो अस्पतालसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको पनि बताउनुभयो ।हाल भएको १ सय शै्ययाको क्यान्सर अस्पताललाई २ सय बेड बनाउन स्वास्थ्य मन्त्रालय सकारात्मक रहेको र भन्सार छुटसमेत दिने तयारी भएको जानकारी दिँदै उहाँले नेपाल क्यान्सर अस्पतालले नेपालकै पहिचान राख्ने गरी काम गर्न सकोस् भन्ने शुभकामना दिनुभयो ।

उहाँले नेपाल सरकारले क्यान्सर रोगका बिरामीलाई आर्थिक सहुलियतको व्यवस्था गरेजस्तै अस्पतालले पनि सक्दो सहयोग गरी अनुसन्धान र रोकथामको सेवा प्रदान गर्न आग्रह पनि गर्नुभयो । कार्यक्रममा विभिन्न समयमा सञ्चालित खेलकुद कार्यक्रम, रक्तदान, वाकाथनलगायतका खेलकुद, निबन्ध प्रतियोगितामा उत्कृष्ट हुनेलाई पदकद्वारा सम्मान गरिएको थियो । साथै ८ वर्ष काम गरेका कर्मचारीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।