पोखराका जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम


कास्की ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा र समग्र गण्डकी प्रदेशको विकास लागि प्रदेश सरकार र पोखरा महानगरपालिका एकाकार हुनुपर्ने बताएका छन् ।

पोखरा महानगरपालिकामा नवनिर्वाचित पदाधिकारी र कर्मचारीका लागि आयोजित नेतृत्व विकास तालिमको उद्घाटन कार्यक्रममा शनिबार उहाँले प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र भएकाले विकासका लागि सँगसँगै अगाडि बढ्नुपर्ने बताएका हुन् ।

मुख्यमन्त्री पोखरेलले भन्नुभयो– ‘पोखरा प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र पनि हो । यो सहरलाई कस्तो बनाउने भनेर प्लानिङ गर्ने हामीहरूले नै हो । पोखरालाई राम्रो बनाएर आउने नेतृत्वलाई सुम्पने यही समूहले हो । सोचौं कसरी त्यो लक्ष्यलाई पूरा गर्न सकिन्छ ।’
पोखराको सुन्दरता बचाइ राख्न र पर्यटक आकर्षणका लागि थप पूर्वाधार निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो ।

पोखरा र गण्डकी प्रदेश हरेक सूचकांकमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसाबमा पछि रहेको भन्दै मुख्यमन्त्री पोखरेलले भन्नुभयो– ‘हाम्रा नीति नियम कमजोर हुन् या कहाँनेर कमजोरी छ त्यो पत्ता लगाएर आर्थिक गतिविधि बढाउनुपर्ने छ । पोखरा त अब प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्छ । पर्यटनमार्फत् यो सम्भावना पनि छ ।

अबको पोखरा कास्कीभित्रको सहरी क्षेत्रमात्र होइन मादी र आँधी बीच अनि त्यस वरपरको भूभागको विकासका लागि पोखराले चासो देखाउनुपर्ने उहाँको भनाइ थियो ।स्याटेलाइट सहर विस्तारका लागि प्रदेशले पनि गृहकार्य गरिरहेको भन्दै मुख्यमन्त्री पोखरेलले सबै खालका गतिविधिलाई पोखराभित्र मात्र समेट्न सम्भव नभएको बताउनुभयो ।पोेखराका पर्यटकीय गन्तव्यहरूमा पूर्वाधार थपेर शुल्क उठाउने विषयमा, बसपार्क, सार्वजनिक शौचालय निर्माणदेखि व्यवस्थित यातायातका लागि प्रदेश सरकार र पोखरा महानगरपालिका बीच समन्वय हुन सक्ने उहांको भनाइ थियो ।

फेवातालको मापदण्ड र संरक्षणको विषय जहिल्यै पनि मुद्दाका रूपमा आइरहेको र यसका लागि सर्वोच्चले प्रष्ट आदेश दिइसकेको भन्दै मुख्यमन्त्री पोखरेलले यसमा पनि महानगर र प्रदेश सरकार मिलेरै अगाडि बढ्न जरुरी रहेको बताउनुभयो ।पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ । यसको उपयोगका बारेमा चर्चा शुरू भइसकेको छ । ल्यान्डफिल साइटको विकल्पको खोजी र विमानस्थलसम्मको बाटो विस्तार प्राथमिकता हुनु जरुरी छ उहाँले भन्नुभयो ।

पोखराको सार्वजनिक जग्गा संरक्षणमा पनि महानगर अझै चनाखो हुनुपर्ने सुझाव उहाँले दिनुभयो । उहाँले भन्नुभयो–‘महानगर आफैं र पोखरा उपत्यका नगर विकास समितिको नाममा धेरै जग्गा छ, त्यसको उपयोगिताका लागि अब योजना बनाउन ढिला गर्नु हुँदैन ।कार्यक्रममा नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराल, माओवादी केन्द्र अध्यक्ष बखानसिंह तमु, नेकपा एसका कावा अध्यक्ष खड्ग हमालले महानगरको नेतृत्वले पोखरेलीको सपनालाई साकार पार्न लाग्नु पर्ने बताए । मेयर धनराज आचार्यले २ दिनसम्म चल्ने नेतृत्व विकास तालिममा महानगरका जनप्रतिनिधि र महाशाखा, शाखा प्रमुखलाई ५ समूहमा विभाजन गरिएको बताउनुभयो । अभिमुखीकरण मात्र नभएर अन्तरघुलनका लागि यस्ता कार्यक्रम आवश्यक रहेको उहााले बताउनुभयो ।