बहुमूल्य हिरामोती र रत्न जडित भोटो देखाउँदै भोटो जात्रा सम्पन्न



ललितपुर । 

वर्षा र सहकालका देवता बुंगद्यो अर्थात् रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रासँगै शनिबार उपत्यकाको सबैभन्दा लामो जात्रा सकिएको छ । कोरोना संक्रमणको कारण देखाउँदै लगातार दुई वर्ष रातो मच्छिन्द्रनाथको भोटो जात्रा रोकिएको थियो ।

बहुमूल्य हिरामोती र रत्न जडित भोटो देखाउँदै सकिएको रातो मच्छिन्द्रनाथको रथयात्रालाई काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्रा मानिन्छ । यो रथयात्रा कम्तीमा एकदेखि बढीमा पाँच महिनसम्म चल्ने गर्दछ ।

भोटो जात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा साँझ करिब पौने ५ बजे जावलाखेल पुग्नुभएको थियो । सो अवसरमा सभामुख अग्नि सापकोटा, कायममुकायम प्रधान न्यायाधीश दीपककुमार कार्की र प्रधानसेनापति प्रभुराम शर्माको पनि उपस्थिति रहेको थियो ।गुठी संस्थान ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीले भोटो रथको चारैकुनाबाट तीनपटक देखाउनुभयो । भोटो जात्राको शुरूआतबारे ऐतिहासिक अभिलेख नभए पनि यससँग जोडिएको किंवदन्ती भने जनमानसमा चर्चाको विषय रहेको छ ।

किंवदन्तीअनुसार मल्ल कालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेवापत एक किसानले उपहारस्वरूप बहुमूल्य गहना र हीराजडित भोटो पाएका थिए । किसानले पाएको त्यो भोटो खेतमा काम गर्दा हराएपछि किसानले व्यापक खोजी गर्न थाले । खोजी गरेर कहींकतै नपाएपछि जावलाखेलमा रातो मच्छिन्द्रनाथको जात्रामा एकजना राक्षसले लगाएको देखेको बताइन्छ ।

ती किसानले यो भोटो मेरो हो भनेर माग्दा दुई जनाबीच विवाद हुँदा दुवैले भोटो आप्mनो भएको प्रमाण पेस गर्न सकेन । किंवदन्तीअनुसार सो विवाद राजासमक्ष पुगेपछि रातो मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन जसले सप्रमाण भोटो मेरो हो भन्छ, उसैलाई दिने सर्तमा नासोका रूपमा राखिएको यो भोटो कसको हो भनेर देखाउने जात्रा शुरू भएको हो ।

भोटो देखाउने क्रममा परम्परागत मृदङ बाजा, इन्द्र बाजा र कां बाजा बजाइएको थियो । भोटोको अवलोकनपछि राष्ट्रपति भण्डारी, उपपराष्ट्रपति र प्रधानमन्त्री देउवाले मच्छिन्द्रनाथसँगै जावलाखेलको पाटीमा विराजमान गराइएको जिवितदेवी कुमारीको दर्शन गर्नुभयो ।भोटो देखाइसकेपछि यस वर्षको रथयात्रा समाप्त भएको छ । भोटो जात्रा सकिएलगत्तै परम्परागत बाजागाजा, गुरुजुको पल्टन र भक्तजनहरूको लावालस्करसहित मच्छिन्द्रलाई खटमा राखेर बुङमती पु¥याइयो । मीमनाथको रथ तानेर टंगलस्थित तःबहाल पु-याइएको थियो ।

यस वर्ष वैशाख १८ गते रथारोहण गराइएको थियो । त्यसको चार दिनपछि अर्थात् गत वैशाख २१ गते बुधबार पुल्चोकबाट रथ तानिएको थियो । रथयात्रा पुल्चोक, गाबहाल, सुन्धारा, चक्रबहील, हुँदै लगनखेलको थति टोलमा वैशाख २८ गते पु¥याइएको थियो । त्यहाँबाट रथ गत बुधबार जावलाखेल तानिएको थियो । जावलाखेलको रथ लगनखेलको थतिबाट जावलाखेल पु-याइएको चार दिनपछि भोटो देखाउने परम्पराअनुसार शनिबार भोटो जात्रा भएको हो ।

काठमाडौं उपत्यकामा अनावृष्टि भएपछि गुरुजु बन्धुदत्त आचार्यको सल्लाहअनुसार राजा नरेन्द्रदेवले वि. सं. ६५० मा भारतको कामरूप कामाक्षा (आसाम) बाट मच्छिन्द्रनाथ काठमाडौंमा ल्याइएको इतिहासमा उल्लेख छ । यसै कारणले गर्दा रातो मच्छिन्द्रनाथलाई सहकालका देवता मानिएको हो ।

प्रतिक्रिया दिनुहोस्