योगको चौतर्फी चासो, भीरकोटमा शिविर



स्याङ्जा ।

आज हजारौं अनुसन्धानहरु योगका विभिन्न पक्षको माध्यमबाट संभव भएको छ । अनगिन्ति नसर्ने रोगहरुको संक्रमणलाई नियन्त्रण गर्नका लागि योग धेरै उपयोगी हुने कुरा प्रमाणित भैसकेको छ । सामान्य अर्थमा योग भनेको जोड हो । जहाँ दुई पक्षलाई जोडिन्छ र एकाकार गरिन्छ भने त्यो जोड्ने माध्यम लाई योग भनिन्छ । योगको विषयमा भागवद गितामा योग कर्मसु कौसलम् भनेर परिभाषित गरिएको छ भने पतन्जली योग सूत्रमा योग चित्तवृत्तिनिरोध भनेर उल्लेख गरेको पाइन्छ । जसले निस्वार्थ कर्म गर्नू र चित्तलाई स्थिर राख्नु भन्नेमा जोड दिएको छ । यौगिक भाषामा योग (जोड) को अर्थ आत्मालाई परमात्मासँग जोड्नु भन्ने हुन्छ ।

वर्तमान वैज्ञानिक युगमा आत्मा र परमात्माको कुरा गर्दा मानिसहरुले यसलाई अन्धविश्वास भनेर पनि भन्ने गर्दछन् । किनकी अहिले मनिस पूर्ण रुपमा भौतिक वादमा जकडिसकेको छ । यसबाट टाढा जानु भनेको अन्ध विश्वासको पछिलाग्नु हो भन्ने मानवीय धारणाले हामी जकडिएका छौं ।

यसैक्रममा स्याङ्जाको बालमैत्री नगर भीरकोटमा विशेष योग प्रशिक्षण शिविर सुरु भएको छ । “योग गरौं, निरोगी रहौं” भन्ने नाराका साथ संचालन गर्न लागिएको योग शिविरमा पतञ्जली योगपिठ हरिद्वारका योग साधिका पूज्य साधवी देवादितीले प्रशिक्षण दिइरहनुभएको छ । आँधीखोला सिटी हल कृषिमा संचालन भैरहेको योग शिविरमा करिब १ सय २० जनाको सहभागीता रहेको छ । पतञ्जली योग समिति स्याङ्जाको आयोजना र भीरकोट नगरपालिकाको व्यवस्थापनमा संचालन भएको योग शिविर बिहान ५ बजे देखि ७ बजेसम्म पाँच दिन संचालन हुने आयोजकले जनाएको छ ।

५ दिने योग शिविरको उद्घाटन गर्दै भीरकोट नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले हाम्रो अभियान, स्वास्थ्यमा शान भन्ने भीरकोटको नारालाई सार्थक बनाउन अनुरोध गर्दै मन र स्वास्थ्यको लागि समेत योग आवश्यक रहेको बताउनुभयो । सबैलाई योग सिक्न र निरोगी बन्न नगर प्रमुख कर्माचार्यको आग्रह छ ।

उद्घाटन समारोहमा पतञ्जली महिला योग समिती स्याङ्जाका अध्यक्ष कविता भूसाल, केन्द्रिय सदस्य सरिता लम्साल, गण्डकी प्रदेश अध्यक्ष नरेन्द्रमान लालचन, योग शिविर संयोजक आनन्द चिलुवाल, पतञ्जली योग समिती स्याङ्जाका महिला महामन्त्री सीता के.सी., पतञ्जली योग समिती स्याङ्जाका महामन्त्री खगेन्द्र प्रसाद अर्याल लगायतका वक्ताहरूले योग र स्वास्थ्यको अन्तरसम्बन्धको विषयमा प्रकाश पार्नुभएको थियो ।

पतञ्जली योग समिती स्याङ्जाका अध्यक्ष नारायण प्रसाद तिवारीको सभापतित्वमा सम्पन्न भएको योग शिविरमा भीरकोटका जनप्रतिनिधि, राजनीतिज्ञ र सर्वसाधारणहरुको उपस्थिती रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्