टौदहमा माछा छाड्न र दाना हाल्न प्रतिबन्ध

0
Shares

टौदह, कीर्तिपुर । 

काठमाडौंको कीर्तिपुरस्थित टौदह पोखरीका माछा मर्न थालेपछि सर्वसाधारणलाई एक साताका लागि पोखरीमा दाना हाल्न र माछा छाड्न प्रतिबन्ध लगाइएको छ । पोखरीमा शनिबारयता मात्रै करिब ३ सय माछा मरिसकेका छन् । पोखरीको क्षमताभन्दा बढी माछा हुनुका साथै मकै र अन्य वालीमा हालेको विषादीयुक्त पानी वर्षात्का कारण पोखरीमा पर्न गएकोले माछा मरेका हुन् ।

श्री कर्कट नागराजारानी बासस्थान मानिएको टौदह समाजका अध्यक्ष जयराम कार्कीले बिहीबार नेपाल समाचारसँगको कुराकानीमा माछा मरेपछि केही दिनका लागि पोखरीमा दाना हाल्न र माछा छाड्न प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो । समाजले माछाको दाना बेच्ने करिब एक दर्जन पसल र वरपरका किराना पसललाई समेत पत्र पठाएर एक सातासम्म दाना नबेच्न पनि आग्रह गरेको छ । पोखरीमा दाना हालेको र माछा छाडेको जानकारी पाएमा तत्काल कारबाही गर्ने सूचना जारी गरिएको छ ।

विशेष गरी बौद्ध धर्माबलम्बीले आफ्नो र आफन्तको जन्मदिनमा यो पोखरीमा माछालाई दाना दिने र माछाका भुराहरू ल्याएर छाड्ने गर्दछन् । त्यति मात्रै होइन, पोखरीमा घुम्न आउने पर्यटकहरूले पनि रमाइलोका लागि माछालाई दाना खुवाउने गर्दछन् । माछाले आवश्यक्ताभन्दा बढी दाना खाएका कारणले पनि मरेको हुनसक्ने आशंका गर्दै एक सातालाई दाना बन्द गरिएको टौदह समाजले जनाएको छ ।दुई दिनयता माछा मर्न रोकिएको जानकारी दिँदै अध्यक्ष कार्कीले भन्नुभयो– ‘बढी दाना भएर र क्षमताभन्दा बढी माछा रहेकोले अक्सिजन नपुगेर माछा मरेका हुनसक्ने अनुमान गरेका छौं । त्यही भएर नै माछा छाड्न र दाना बेच्न प्रतिबन्ध लगाएका हौं ।’

माछा मर्न थालेपछि चार दिनअघि मत्स्य विकास केन्द्रका विशेषज्ञ टोलीले अनुसन्धान गरेको थियो । टोलीले अक्सिजन कमी भएकै कारण टौदहका माछा मरेको निष्कर्ष निकालेको जानकारी दिँदै कार्कीले भन्नुभयो– ‘विशेषज्ञ टोलीले विषादी मिसिएका कारण केही असर परे पनि मुख्यगरी अक्सिजनको कमी भएकै कारण माछा मरेको बताए ।’ उहाँका अनुसार पोखरीमा रहेका पुराना माछाभन्दा पनि पछिल्लो समय छाडिएका नयाँ माछाले अक्सिजन पाउन नसकेर मरेका हुन् ।समाजले पोखरीमा स्वच्छ पानी पठाउन चारैतिर नाली निर्माण गरेको छ । तर, केही असावधानीको कारण विषादीयुक्त पानी र अक्सिजन कमी भएकोले माछा मरेको स्थानीयको ठम्याइका कारण अब पानी फिल्टर गर्ने र निर्मल पानी मात्र पोखरीमा पुग्नेगरी व्यवस्था भइरहेको अध्यक्ष काकीले बताउनुभयो ।

करिब १ सय १४ रोपनीमा फैलिएको सो क्षेत्रको ९६ रोपनीमा पोखरीले ढाकेको छ । पोखरी विकास गर्न शहरी विकास विभागले ४ करोड ५० लाख रुपियाँको परियोजना सञ्चालन गरेको छ । पोखरीलाई सुन्दर बनाउन वरपर विकास निर्माणका थप योजना माग गरिएको छ ।
समाजले पोखरीको सरसफाईका लागि र टिकट बिक्री गर्न ११ जना कर्मचारी खटाएको छ । ती कर्मचारीले पोखरी सफा गर्नुका साथै अनुगमन गरी नियमविपरीत काम गरे कारबाही पनि गर्ने अध्यक्ष कार्कीले बताउनुभयो ।