नेपाल सरकारले ल्याएको २०७९–८० को बजेट भाषणबाट सरकारी कर्मचारी दंग परेको छन् । अर्थमन्त्री जनार्दन शर्माले हिजो सदनमा पेस गरेको बजेटमा सरकारी कर्मचारीलाई फाइदैफाइदा हुने नीति मात्र ल्याइएको छ ।
पेन्सलवालदेखि लिएर बहालवाला दुवैको तलब १५ प्रतिशतले वृद्धि भएको छ । यता, सरकारी कर्मचारीलाई मासिक आठ दिन छुट्टीको व्यवस्था पनि गरिएको छ । शनिबार र आइतबार दुई दिन उनीहरूलाई कार्यालय जानुपर्दैन । तर, संघसंस्था, उद्योग, निजी कार्यालय र घरायसी कामदारलाई चाहिँ आइतबार छुट्टीको प्रबन्ध मिलाइएको छैन । सकेसम्म शनिबार पनि काम लगाउन खोजिन्छ ।
सरकारले निजी क्षेत्रमा काम गर्ने कामदाहरूको तलब बढाउनुपर्छ भनेर निर्णय गरेन । संघसंस्था तथा व्यक्तिले तलब बढाउन चासो दिदैनन् । बरू, कम तलबमा धेरै काम दलाउन खोज्छन् । सरकारको आँखामा सरकारी कर्मचारीलाई मात्र मँहगी बढ्दो रहेछ भन्ने कुरा हिजोको बजेट भाषणले स्पष्ट देखाएको छ ।सरकारी कर्मचारीको मात्र परिवार रहेछन् । सरकारले सरकारी क्षेत्रमा आवद्ध रहेकालाई मात्र देशको नागरिक गन्दो रहेछ । सरकारको दृष्टिकोणबाट हेर्ने हो भने निजीमा काम गर्नेलाई महँगी बढेको छैन ।
उनीहरूको चाहिँ परिवार र बालबच्चा छैनन् । सरकारले साच्चै उनीहरूलाई बिर्सिएको हो ? सातामा दुई दिन बिदा दिनका लागि पनि विभिन्न शर्तहरू छन् तर तिनीहरूको पालना भएको छैन । सरकारले सरकारी कर्मचारीको सुःखसयलका निम्ति मात्र यो योजना ल्याएको बुझिएको छ । बिहान साढे ९ बजे कार्यालय पुग्नुपर्ने भनिएको छ । तर, ११ बजेसम्म कोही कार्यालय आइपुगेका हुँदैनन् । बेलुकी साढे ५ बजेसम्म ड्युटी भने पनि ३ बजे घरतिर दौडिहाल्छन् । कतिपय त हाजिर गर्नेबित्तिकै आफ्नो कामविशेष छ भनेर निस्किन्छन् । इन्धन खपत घटाउने भन्ने बहाना बनाएर सरकारी कर्मचारीलाई मोजमस्ती गर्ने बाटो सरकारले खुला गरेको हो ।
जनताको सेवाका निमित्त खटाइएका कर्मचारीहरू कार्यालय आउँछन् आफ्नो व्यक्तिगत काम गर्न मात्र ध्यान दिन्छन् ।सामान खरिद गर्दा पनि कमिशन खान्छन् र छुट्याएको बजेट झवाम्म पार्छन् । नयाँ सामान किनेको दुई दिन पनि टिकाउदैनन् । सरकारले तलब बढाउन हतार गर्छ तर जनताको काम छिटोछरितो भएको छ कि छैन् त्यो हेर्दैन । चारैतिरबाट सरकारी कर्मचारीलाई पोस्ने काम मात्र भइरहेको छ । न जनताप्रति हेर्ने दृष्टि र गर्ने व्यवहारमा परिवर्तन आयो ।
सरकारी कर्मचारीबाट आम नागरिक वाक्कदिक्क भइसकेका छन् । जसरी हुन्छ आफ्नो धोक्रो भर्ने काम मात्र यिनीहरूद्धारा भइरहेको छ । ‘दिन कटानी, माना पचानी’ बाहेक यिनीले केही गर्न जानेका छैनन् ।बिदाको दिन सरकारी गाडी सडकमा निकाल्न सख्त मनाही छ । शनिबार र आइतबार सरकारी गाडी चलाउन प्रतिबन्ध लगाइएको छ । तर, बिदाको दिन पनि बाटोमा सरकारी गाडी गुडिरहेका भेटिन्छन् । रासन किन्नदेखि भट्टीमा जानसमेत सरकारी गाडीकै प्रयोग हुन्छ । अनि, खोइ त नियमनकारी निकाय ? जिल्ला प्रशासन कार्यालयको सीडीओ गोविन्द रिजालले बिदाको दिन सरकारी गाडी चलाएमा कारबाही गर्ने भनेर निर्णय गरेका छन् ।
तर, सो पनि प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेको छैन । तर, अन्य जिल्लाका सीडीओले त यति निर्णय पनि गर्न सकेका छैनन् । भक्तपुर र ललितपुरको सीडीओ आफैं त बिदाको दिन सरकारी गाडी हुइकाउँछन् । अनि कसलाई कारबाही गरुन् ? आफैंलाई कारबाही गर्न मिलेन । अन्य जिल्लामा पनि यही नै पारा हो । गृह मन्त्रालयले पनि हालसम्म ७७ वटै जिल्लाका सीडीओलाई सरकारी गाडी नचलाउन परिपत्र गरेका छैनन् । गृहमन्त्री बालकृष्ण खाँड आफ्नो कार्यकर्तालाई सरकारी गाडीमा घुमफिर गर्न छुट दिन्छन्, अनि अरुले के टेर्लान् ? ट्राफिक प्रहरी महाशाखा भने हातमाथि हात बाँधेर बसेको छ । बिदाको दिन सरकारी गाडी चढ्ने हाकिम र चालक दुवैलाई कारबाही नगरीकन कमिसनको खोजीमा दौडिरहेका छन् ।
सरकारले नै महँगो गाडी किनेर सरकारी कर्मचारीलाई बाँड्ने । पेट्रोलको भार पनि नेपाली जनताले बोकिदिनुपर्ने । चालकलाई तलब दिने ठेक्का पनि जनताले तिरेको करबाट दिने । गाडी मर्मतको नाममा पनि उत्तिकै खर्च गर्ने । अनि हामी नेपाली जनता भोकभोकै मर्ने ? सरकारी कर्मचारी जीउमा हालेको वस्त्र पनि नेपाली जनताले तिरेको करबाट आएको हो । उनीहरूले मासिक बुझिरहेको तलबभत्ता पनि जनताकै देन हो । खाने हाम्रो काम गर्ने व्यापारीको ? अर्थमन्त्री शर्मा र प्रधानमन्त्री देउवाले चुनाव लक्षित गरेर बजेट कार्यक्रम ल्याएको सबैले बुझिसकेका छन् ।
उनीहरूको आँखाले जनता नदेखे पनि जनताले राम्रोसँग देखेका छन् । अब आउने चुनावमा सरकारी कर्मचारीको भोटले को कहाँ पुग्दो रहेछ नतिजा आउन बाँकी छ । हाल एउटा नेपालीको टाउकोमा ६३ हजार तीन सय रूपियाँ पुगेको भनेर सरकारी तथ्याङकमा उल्लेख छ । योमध्ये पनि कति त लुकाइएको स्पष्ट बुझिन्छ, अर्थविद्हरू एउटा नेपालीको टाउको ७० हजार रूपियाँ ऋण पुगेको छ भनेर बारम्बार भन्दै आइरहेका छन् । विदेशबाट लिएको ऋणले नेपालमा केही प्रगति भएको पाइदैन ।
सरकारी कर्मचारी र नेताहरूको देश–विदेश घुम्ने खर्च टार्न नसक्ने स्थिति बनिसकेको छ । उपचारको नाममा पनि राज्यकै ढुकुटी सखाप पार्ने काम भइरहेको छ । तलबभत्ता, सेवासुविधा त अझै हिसाब गर्ने बाँकी छ । सरकारले जथाभावी खर्च गरे पनि नेपाली जनता मौन छन् । जनताहरूको स्थिति अझै पनि नाजुक छ । बिहानबेलुका छाक टार्नका निम्ति रातदिन नभनी खट्न बाध्य छन् । मासिक पाँचदेखि १५ हजार तलबमा आफ्नो रगतपसिना बगाइरहेका छन् । उनीहरूले आफ्नो नङग्रा खियाएको जति पनि मूल्य पाएका छैनन् । तर, सरकार कहाँ छ ?
यिनीहरूलाई पनि त मँहगी बढेको होला ? कोठा भाडा बढ्यो होला ? उनीहरूको पनि जहान परिवार होलान् ? यिनीहरूलाई पनि भोक लाग्छ, रोगले च्याप्छ । अनि सरकार छ भनेर उनीहरूले कसरी अनुभूति गर्ने ? नागरिकता दिने, भोट लिने त्यसकै लागि मात्र हो नेपाली जनता ? न उनीहरूलाई राज्यले कुनै क्षेत्रमा छुट दिएको छ । उपचारदेखि लिएर अन्य हरेक क्षेत्रमा सरकारी कर्मचारीलाई मात्र छुट दिएको छ । हामी नेपाली जनता कसैको आवश्यकता परिपूर्तिका लागि कर तिर्न मात्र जन्मिएको हो ? एकछिन् हात खाली नराखी बिहान ९ बजेदेखि ७ बजेसम्म खटिनुपर्छ, हामी नेपाली जनता ।
तैपनि खान–लाउन पुग्दैन । अरूको वर्षैपिच्छे तलब बढ्छ तर निजी क्षेत्रमा काम गर्नेहरू उही तलबमा वर्षौंसम्म काम गर्न बाध्य छन् । तलब बढाउन भन्यो भने कामबाट निकालिदिन्छन् । व्यापारीले हप्तैपिच्छे सामानको मूल्य बढाउँछन् । घरधनीले तीन महिनामा घरभाडा । यातायात व्यवसायीले वर्षमा चारपटक भाडा बढाउँछन् । अनि हामी नमरे को मर्ने ? व्यापारी, घरधनी र यातायात व्यवसायीलाई भाडा बढाए भइहाल्यो । व्यापारीले तलब बढेको छैन भन्दैमा सामानको मूल्य घटाउदैन । घरधनीले उही भाडामा कोठा दिदैनन् । सार्वजनिक यातायात पनि उही नै हो ।
श्रम मन्त्रालयले तलब बढाउनुपर्छ भनेर निर्णय गर्दैन । श्रममन्त्री कृष्णकुमार श्रेष्ठले जनता मरुन कि बाचुन् चासो छैन । कुन म्यानपावरले कमिसन दिन्छ उनको दिमागमा यही कुरा खेलिरहेको हुन्छ । आफूलाई कमिसन नदिने म्यानपावरको खोइरो खन्न भने भ्याउँछन् । २०७८ साउन १ गतेदेखि १५ हजार तलब अनिवार्य दिनुपर्छ भनिएको थियो । त्यो पनि बैंकमार्फत् । तर, अहिले पनि मासिक न्यून तलबमा काम गर्ने प्रशस्तै छन् ।
गरिबको पक्षमा न सञ्चार क्षेत्रले आवाज उठाउँछ न उनीहरूको निम्ति सरकार नै छ । गरिबहरूलाई लुट्नेसँग कसैको केही लागेन । न्यून तलबका कारण भोकभोकै बस्नुपर्ने बाध्यता जाइलागेको छ । रोजगारीका क्षेत्रहरू छैनन् । कुनै व्यवसाय गरौं भने पुँजी छैन । कमाएर खाँऊ भने जग्गा छैन । जताबाट मर्ने पनि सिधासाधा जनता । बजेटले गरिबलाई छोएन ।
-अनुसा थापा, भक्तपुर
प्रतिक्रिया