कांग्रेससँग प्रचण्ड सशङ्कित


काठमाडौंं । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस पनि एमालेजस्तै अहंकारी होला कि भन्ने आशंका गर्नुभएको छ । उहाँले स्थानीय निर्वाचनपछि कतिपय कांग्रेसका नेताहरूमा अहंकार देखिन सक्ने देशैभरिबाट रिपोर्ट आएको बताउँदै एमालेजस्तै अहंकारी होला कि भन्ने आशंका लागेको बताउनुभएको हो ।

बुधबार पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सरकार सञ्चालनबारे प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनमै रहेको कांग्रेसप्रति आशंका जनाउनुभयो । उहाँले गठबन्धनलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको भन्दै बृहत्तर राष्ट्रिय हितका लागि केही काम गरे पनि अवसरवादीले त्यसलाई दुरूपयोग गर्ने गरेको बताउनुभयो ।

एमालेसँग गठबन्धन र पार्टी एकता राम्रो उद्देश्यका लागि गरिएको भए पनि केपी ओलीको अहंकारले टिक्न नसकेको बताउँदै भन्नुभयो– ‘अहिले कांग्रेस पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ, हामीले प्रधानमन्त्री बनायाै‌, मिहिनेत गरेरै बनाएको हो । हाम्रो अरू केही छैन, गठबन्धनलाई लाने नै भन्ने हो ।’ ‘हामी चिन्तित छौं, फेरि कांग्रेस पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन, स्थानीयमा पनि घेरा लाइयो अब प्रदेश र संघको चुनावमा पनि लाउने भन्यो भने एमालेलाई ठेगान लाएजस्तै कांग्रेसलाई पनि लगाउने दिन नआओस् भन्नेछ’ –उहाँले भन्नुभयो ।

प्रशिक्षण कार्र्यक्रममा प्रचण्डले अहिले जितेका १२२ स्थानीय तहलाई पार्टीको आधार इलाका बनाउन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो– ‘तपाईं हामीले पनि जनताको मत जितेर अर्कोपटक १२२ स्थानीय तह नयाँ आधार इलाका हुनुप-यो ।’ प्रचण्डले काठमाडौं र धरानमा स्वतन्त्रले जिते पनि जनकपुरदेखि धनगढीसम्मका सबै पार्टीकै प्रतिनिधिले जितेको टिप्पणी गर्दै बालेन साह र धरानका हर्क साम्पाङले दलहरूलाई सबक सिकाएको बताउनुभयो । काठमाडौं र धरानमा जितेका जनप्रतिनिधिले वास्तविक माओवादीले जस्तै कुरा गर्न खोजेको बताउँदै उहाँले पार्टीले गर्ने काम काठमाडौं र धरानका प्रतिनिधिले गरेकाले जनताले पार्टीलाई सबक सिकाएको बताउनुभयो ।