नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षणको तयारी


काठमाडौं ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई स्थानीय निकाय सञ्चालनसम्बन्धी प्रशिक्षण दिन तयारी अघि बढाएको छ ।

मन्त्रालयले प्रदेश सरकारसँग सहकार्य गरी तालिम दिन लागिएको हो । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ ।प्रशिक्षण जेठ २५ गतेदेखि शुरू हुने छ । मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालका अनुसार प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा जेठ २५ र २६ गते, मधेस, गण्डकी र कर्णालीमा २७ र २८, वागमती र लुम्बिनी प्रदेशमा ३० र ३१ स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिइनेछ । स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षणसम्बन्धी जानकारी सम्बन्धित प्रदेशमा रहेको प्रादेशिक सुशासन केन्द्रमार्फत् गराइने जनाइएको छ ।

स्थानीय सरकार सञ्चालनसम्बन्धी जानकारी दिई कार्यसम्पादन प्रभावकारी बनाउन स्थानीय सरकार सञ्चालनसम्बन्धी प्रशिक्षण दिन लागिएको सहसचिव खनालको भनाइ रहेको छ । प्रशिक्षणका लागि प्रदेश सरकारसँग समन्वय गर्ने, विषयवस्तुको तयारी गर्ने काम भइरहेको पनि मन्त्रालयले जनाएको छ । प्रशिक्षणबाट वार्षिक नीति, योजना र कार्यक्रम बनाउन, सेवा प्रवाह, सुशासन, सामाजिक समावेशीकरण विषयमा जनप्रतिनिधिको बुझाइ स्पष्ट हुने मन्त्रालयले अपेक्षा गरेको छ ।

नवनिर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखलाई संघ, प्रदेश र स्थानीय तहको अन्तर सम्बन्ध, संविधान र कानुनले प्रदान गरेका स्थानीय तहका काम कर्तव्य र अधिकार, स्थानीय तहका राजस्व संकलनका क्षेत्र, सार्वजनिक खरिदको व्यवस्थापन, विकास निर्माण गर्दा सम्बन्धित क्षेत्रसँगको अन्तर सम्बन्ध, योजना तर्जुमा प्रक्रिया, स्थानीय तहको सुशासन र सदाचार विषयमा स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिइनेछ ।

त्यस्तै, राजनीतिक दलहरूले पनि आफ्ना पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिलाई अभिमुखीकरण गर्ने भएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जनप्रतिनिधिलाई प्रशिक्षण दिने तयारी गरेका छन् । कांग्रेसले आफ्ना पार्टीबाट जितेका हरेक जनप्रतिनिधिको वर्ष दिनमा मूल्यांकन गरिनेसमेत बताउँदै आएको छ ।