काठमाडौं ।
वि.सं. २०५८ जेठ १९ गते राती दरबार हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश विनास भएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको उक्त हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ ।
दरबार हत्याकाण्डमा मारिएका उनै राजा वीरेन्द्रसँग जोडिएको एउटा घटना जसले नेपालको हवाई उड्डयनमा थुप्रै उल्लेख्य रेकर्ड बनाएका क्याप्टेन केशवकृष्ण श्रेष्ठ (क्याप्टेन केके) लाई देशका लागि योगदान दिने अवसर पनि दियो, अनि थुप्रै उत्तारचढाव पनि ।
क्याप्टेन केकेको भनाइ उहाँकै शब्दमा…
सन् १९७८ मे महिनाको पहिलो सातातिर मलाई दरबार बोलाइयो । काठमाडौंबाट हिमाल नाघेर चीनको पेकिङ, अहिलेको बेइजिङसम्म ‘ननस्टप फ्लाइट’ उडाउन सकिन्छ कि सकिन्न भनेर सोध्नका लागि मलाई दरबार बोलाइएको थियो ।
त्यतिबेला नेपालबाट विदेशमा उडान भर्न भारतमा ‘कस्टम क्लियर’ गर्नुपर्ने बाध्यता थियो । भारतको आकाश भएर उडान भरिरहेको नेपाली हवाई उड्डयन क्षेत्रले त्यतिबेलासम्म भारतको आकाश प्रयोग नगरी उत्तरतिरको हिमाल छिचोलेर उडान भर्नु जोखिमपूर्ण ठानेको थियो ।नेपालको उड्डयन क्षेत्र भारतको अधिनस्थ भएकाले भारतको तर्फबाट बेलाबेलामा समस्या खडा हुने गरेको थियो । राजा महेन्द्रकै पालामा पनि उड्डयन क्षेत्रको समस्या समाधान गर्न एकपटक राजा महेन्द्र आफैं दिल्ली जानुभएको थियो ।
वीरेन्द्र राजा भएपछि पनि बेलाबेलामा समस्या आई नै रहेको थियो । सायद त्यसैले पनि राजा वीरेन्द्र हिमालमाथिबाट उडान भर्ने विषयमा गम्भीर हुनुहुन्थ्यो । मलाई त त्यस्तो कुरामा खासै चासो पनि थिएन । तर, शाही नेपाल वायु सेवा निगमको मुख्य विमान चालक र अति विशिष्ट (भीभीआईपी) उडानको संयोजक भएको नाताले मलाई ट्रान्स हिमालयन फ्लाइटको सम्भावना अध्ययन गर्ने जिम्मेवारी दिइएको थियो । जसलाई मैले आफ्नो पेसाको धर्म र देशप्रतिको बफादारीलाई सम्झेर इमानदारीपूर्वक पूरा गरेको थिएँ ।
मैले दरबारमा राजालाई ट्रान्स हिमालयन फ्लाइट सम्भव छ भनेर आफ्नो अध्ययनको प्रतिवेदन बुझाएको थिएँ । मलाई नेपालीमा घरिघरि ‘सरकार’ भनेर सम्बोधन गर्न र दरबारिया भाषा प्रयोग गर्न अप्ठेरो लाग्ने भएकाले राजासँग अंग्रेजीमै बढी बोल्थें ।
मैले हिमालमाथि बाट उडान भर्न सकिने, त्यसमा कुनै खतरा नरहेको जानकारी दिँदै राजालाई भनें– ‘हिमालय इज नो मोर ब्यारियर एन्ड वी आर नो लंगर ल्यान्डलक्ड ।’सन् १९७८ मे १४ को बिहान सवा १० बजे त्यो ऐतिहासिक क्षण आयो, मेरा लागि पनि अनि देशकै लागि पनि ।
बी ७२७ एयरक्राफ्टबाट हामीले पहिलोपटक ट्रान्स हिमालयन उडान भर्दै राजा वीरेन्द्र र रानी ऐश्वर्य शाहलाई लिएर चीनको पेकिङसम्मको ऐतिहासिक उडान भ-यौं ।त्यसको भोलिपल्ट हामीले सोही विमानबाट राजा वीरेन्द्र र रानी ऐश्वर्यलाई लिएर जापानको राजधानी टोकियो पुगेर फेरि टोकियोबाट पेकिङ फर्कियौं । त्यो दिन पेकिङमा रात काटेर भोलिपल्ट १६ तारिखका दिन राजारानीसहित विमान पेकिङबाट छेन्दु हुँदै काठ्माडौं फर्कियो ।
त्यो क्षण हाम्रा लागि अति नै खुसीको क्षण थियो, देशको उड्डयनको क्षेत्रमा नयाँ आयाम थप्न हामी सफल भएका थियौं । पहिलो पटक हामीले भारतको भूमी प्रयोग नगरिकनै विदेश उडान भरेका थियौं । काठमाडौं फर्किएलगत्तै राजा वीरेन्द्रले पुनः काठमाडौंबाट पूर्वतर्फ पेकिङ, फुकुुओका, मनिला, क्वालालम्पुर, पेनाङ हुँदै काठमाडौं फर्कने चाहना व्यक्त गर्नुभयो ।
राजा वीरेन्द्रकै चाहनाअनुरूप मे १९ मा काठमाडौंबाट पेकिङ, फुकुओका, मनिला, क्वालालम्पुर, पेनाङको उडान भर्ने क्रममा राजा वीरेन्द्र ककपिटमा छिर्नुभयो । राजा वीरेन्द्रसँग त्यति बेला ककपिटमा भएको कुराकानीले सामान्य रहेन । त्यो एक क्षणको कुराकानीले मेरो व्यावसायिक जीवनमा ठूलै हलचल ल्यायो, जुन म कहिल्यै पनि भुल्न सक्दिनँ ।
त्यति बेला म भीभीआइपी फ्लाइटको संयोजक भए तापनि राजारानीसँग खासै बोलचाल हुँदैन थियो । राजाका सचिवहरूले राजालाई डिस्टर्ब नगर्नु भन्थे । हामी पनि बाहिरै उभिन्थ्यौं, बोल्न जाँदैन थियौं ।
सबैजना बोर्डिङ भएपछि उडान तालिकाअनुसार उडान भथ्र्यौं । राजाको त्यो भ्रमणमा हामी काठमाडौंबाट पेकिङ हुँदै गन्तव्यतिर उडान भरिरहेका थियौं । तर, फुकुवाबाट मनिलासम्मको उडान भर्ने क्रममा राजा वीरेन्द्र अचानक ककपिटमा छिर्नुभयो । त्यति बेला म डोप्लर नेभिगेसन प्रणाली प्रयोग गरिरहेको थिएँ । उहाँले मलाई ‘क्याप्टेन यो के गरिरहेको’ भनेर सोध्नुभयो ।
मैले उहाँलाई डोप्लर नेभिगेसनको बारेमा बताउँदै भनें– यसले दिइएको दूरीमा रेडियो पल्स पठाउँछ र इलेक्ट्रो मोटिभ फोर्स अर्थात् प्रकाशको गतिमा फर्केर ग्राउन्ड स्पिड र ड्रिफ्ट एंगलको बारेमा जानकारी दिन्छ । यो इलेक्ट्रो म्याग्नेटिक तरंगको हाई फ्रिक्वेन्सी पल्स तल पठाउने एअरो म्यागनेटिक सर्भेजस्तै हो ।
पृथ्वीको सतहमा ठोक्किएपछि यसले हामीलाई त्यहाँको पानी, प्राकृतिक ग्यास, हाइड्रोकार्बन र मिनरललगायतका बारेमा जानकारी दिन्छ । मलाई थाहा छैन, उहाँले कति बुझ्नुभयो वा बुझ्नु भएन । तर, त्यति सुनेपछि उहाँले मलाई सोध्नुभयो– ‘तिमीले एअरो म्याग्नेटिक सर्भे गर्न सक्छौं ?’ म पनि के कम ? झट्टै भनिहालें, सक्छु सरकार । त्यसपछि राजा वीरेन्द्रले भन्नुभयो– ‘म तिमीले यो सर्भे गरेको हेर्न चाहन्छु क्याप्टेन ।’
राजाको मुखबाट यस्तो कुरा सुनेपछि मेरो खुसीको ठेगान नै रहेन, मैले आफूलाई निकै भाग्यमानी सम्झें । त्यो क्षण मलाई आफैंमाथि गर्व भयो, यस्तो लाग्यो, मानौं म त साँच्चैको यो देशको सच्चा छोरो रहेछु । यो मेरो जीवनकै सबैभन्दा ठूलो सम्मान थियो । त्यति बेला मैले यो कामको लागि कसैलाई पनि सोध्नुपर्ने वा कसैको स्वीकृति लिनुपर्ने वा कसैलाई खुसी पार्नुपर्छ भन्ने नै लागेन ।
मे २६ मा राजारानीसहित हामी सबै काठमाडौं फर्कियौं ।
केवल आफ्नो हाकिम प्रमुख कार्यकारीको समर्थनमा हामी यो काम पूरा गर्न सक्छौं भन्ने ममा आत्मविश्वास पलायो । राजाको यो निर्देशन राजपत्रमा पनि प्रकाशित भएकाले यो कामलाई अगाडि बढाउन थप सहज पनि भयो । यस विषयमा थुप्रै अध्ययन अनुसन्धान पनि भयो । तर, काम पूरा हुन नदिन बीचमा थुप्रै खेलहरू पनि भयो । ममाथि पनि राजाको ज्यान जोखिममा राखेर उडान गरेको झुटो आरोप लगाएर कारबाही गर्नेसम्मको षड्यन्त्र पनि रचियो ।
प्रतिक्रिया