‘नेपाल सधैं इजरायलको स्वतन्त्रता, सार्वभौमसत्ता र सुरक्षाको पक्षमा’



काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका साथै पूर्व मन्त्रीहरूले इजरायलको स्वतन्त्रता, सार्वभौमसत्ता र सुरक्षाको सवालमा नेपाल सधैं इजरायलको पक्षमा रहेको र भविष्यमा पनि रहने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

नेपाल र इजरायलबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६२ औं वर्षगाँठको अवसरमा नेपालस्थित इजरायली दूताबास र बिपी संग्रहालय समितिले बुधबार सुन्दरीजलमा आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा संचारमन्त्री कार्कीले दक्षिण एसियाबाट अरू कसैले पनि इजरायललाई राष्ट्रको मान्यता नदिएको बेलामा नेपालले राष्ट्रको मान्यता दिएको उल्लेख गर्दै इजरायलको स्वतन्त्रता, सार्वभौमसत्ता र सुरक्षामा नेपालले सधैं इजरायललाई साथ दिने बताए । उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको कार्यकालमा स्थापना भएको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आपसी हितका लागि सहकार्य गर्ने पनि बताए ।

कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि राष्ट्र सानो होस् वा ठूलो, कुनै पनि समुदाय र कुनै पनि व्यक्तिको स्वतन्त्रताको सबैले सम्मान गर्नुपर्नेमा जोड दिंदै प्यालेष्टिनीको पनि अस्तित्वलाई स्वीकार गर्नुपर्ने धारणा व्यक्त गरे । उनले इजरायलको सार्वभौमसत्ता, स्वतन्त्रता र सुरक्षाको सवालमा नेपालको धारणा नबद्लिएको स्पष्ट गर्दै भने– ‘उक्त सवालमा नेपाल सधैं इजरायलको पक्षमा रहने छ । तर सबैको अस्तित्व र व्यक्तिगत स्वतन्त्रताको पनि सबैले सम्मान गर्नुपर्छ भन्ने हाम्रो धारणा हो ।’

पूर्वमन्त्री हिसिला यमीले आकारमा नेपालको बागमति प्रदेश जत्रो भए पनि इजरायलले धेरै क्षेत्रमा प्रगति गरेको भन्दै नेपालले पनि त्यसको अनुसरण गर्नुपर्नेमा जोड दिइन् । उनले बिपी कोइरालाले ठूलै जोखिम मोलेर इजरायलसँग कुटनीतिक सम्बन्ध स्थापना गरेको जिकिर गर्दै भनिन्– ‘यदि बिपी अझै जीवित रहेको भए ओस्लो शान्ति सम्झौतामा पनि उहाँले नै मध्यस्थता गराइदिनुहुने थियो ।’

पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्र संघमा नेपालको भोटिङ प्रणालीमा केही परिवर्तन आएको तर यसबाट इजरायलको सार्वभौमसत्ता, स्वतन्त्रता र सुरक्षाप्रति नेपालको समर्थनमा कुनै कमी नआउने बताए ।

कार्यक्रममा इजरायली राजदूत खनान गोडरले इजरायलकै विषयमा बिपीले लेख्नुभएको हिटलर र यहुदी उपन्यास देखाउँदै दुई देशबीच सम्बन्ध स्थापना मात्र होइन सम्बन्धलाई प्रगाढ बनाउन बिपीको महत्वपूर्ण भूमिका रहेको बताए ।

कार्यक्रममा इजरायलका लागि नेपालका पूर्व राजदूत अञ्जान शाक्यले कृषिको क्षेत्रमा नेपालको सातै प्रदेशमा इजरायलसँग मिलेर सेन्टर अफ एक्सिलेन्स खोल्न सफल भएको बताए । संग्रहालय समितिका अध्यक्ष पर्शुराम पोखरेलले बिपीले सुन्दरीजल बन्दीगृहमा ८ वर्षभन्दा लामो समय बिताउनु परेको एउटा कारण इजरायलसँग सम्बन्ध स्थापना गर्नु पनि रहेको बताए ।

कार्यक्रम स्थलमा नेपाल–इजरायल सम्बन्धका विभिन्न आयामहरू झल्काउने फोटोहरू पनि प्रदर्शनीमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्