१२ औं सार्क ईएनटी सम्मेलन सम्पन्न


काठमाडौं । 

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को नाक, कान र घाँटी रोगका विशेषज्ञहरूको दुई दिने १२ औं सम्मेलन शनिबार सम्पन्न भएको छ ।

काठमाडौंको प्रज्ञाप्रतिष्ठान, कमलादीमा शुक्रबार सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनबाट नाक, कान र घाँटी रोगको उपचारको क्षेत्रमा आपसी ज्ञान र सीप आदानप्रदानले थप दक्षता हासिल हुने बताउनुभयो । उहाँले सम्मेलनमा हुने अन्तरक्रिया तथा छलफलबाट नाक, कान तथा घाँटी रोगको निदान,उपचार एवं विकासमा ज्ञान प्राप्त भई भोलिका दिनमा काम गर्न थप ऊर्जा मिल्ने बताउनुभयो ।

उक्त सम्मेलनमा १ सय २० वटाभन्दा बढी कार्यपत्र प्रस्तुत भएको आयोजकले जनाएका छन् । आयोजक कमिटीका सचिव डा.योगेश न्यौपानेका अनुसार उक्त सम्मेलनमा सार्क राष्ट्रसहित अमेरिकाबाट आएका करीब ५ सय विशेषज्ञहरूको सहभागिता रहेका थिए । उहाँले सम्मेलन उपलब्धिमूलक र उत्साहजनक रहेको र नाक, कान, घाँटीका विषयमा गहन छलफल भएको बताउनुभयो ।