महिला हिंसाविरुद्ध पुरुष



लिङ्गका आधारमा गरिने हिंसा लैङ्गिक हिंसा हो । नेपालजस्तो पितृप्रधान संस्कारको मुलुकमा लैङ्गिक हिंसा भन्नु नै महिला हिंसा भन्ने बुझिन्छ । तर, पुरुष पनि लैङ्गि हिंसाका शिकार भएका छन् । पुरुषलाई समाजले धक फुकाएर रुनसम्म दिंदैन । मानवीय संवेदना र भावना व्यक्त गर्न पनि रोक लगाउँछ । ‘हेर, छोरा भएर पनि रोएको’ भन्छ, हाँसोको पात्र बनाउँछ र अपमानित गर्छ । छरछिमेकको जति आर्थिक आर्जन गर्न नसक्ने पुरुषलाई परिवारका सदस्यले नै नामर्द भन्छन् भने समाजले त नभन्ने कुरै भएन ।

पुरुष भएपछि टन्न कमाउन सक्नैपर्ने जुन बाध्यता छ त्यो पनि उनीहरु विरुद्धको हिंसा हो । पुरुष भएकै कारण यस संसारका साँढे तीन अर्ब नागरिकमध्ये अधिकांशः विभेदको शिकार भइरहेका छन् । तर, पुरुष र महिलामध्ये को बढी हिंसामा छ भनेर खोज्नेहो भने महिलाको प्रतिशत निकै अधिक देखिन्छ ।नेपालमा गत सातादेखि चर्चामा रहेको १६ वर्षे बालिका बलात्कारको जुन पीडादायी घटना छ, शिक्षकद्वारा छात्रामाथि हुने यौन हिंसाका सन्दर्भ छन्, कार्यक्षेत्रका यौनहिंसाका सबाल छन्, यी आदि पुरुषले नगण्य मात्रामा मात्र सहनुपर्छ । बालिका तथा किशोरीहरुमाथि भएको यौन हिंसाको घटनाले नेपाली समाज अझै पनि दास युगमै छ कि जस्तो लाग्छ । यद्यपि पीडितका पक्षमा सडकमा उत्रिएको जनसमुदाय देख्दा सभ्यताउन्मुख भएको पनि प्रमाणित हुन्छ ।

महिला हिंसा विरुद्धको अभियानमा अधिकारकर्मी महिलाका साथ पुरुषको उपस्थिति भने कमजोर देखिएको छ । महिला हिंसा महिलाको मात्र चासोको विषय होइन, सिंगो समाजको मुद्दा हो । लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउन र समानताका लागि हुने अभियानमा ऐक्यबद्धता जनाउन पुरुषको सहभागिता बढाउने प्रयोजनले विश्वमा ‘मेनइङ्गेज अलायन्स’ नामको संस्था कार्यरत छ । नेपाल पनि २०६४ सालदेखि यस अभियानमा संगठित रुपमै लागेको छ ।

मेनइङ्गेज अलायन्स नेपाल छ, दक्षिण एशिया स्तरको सञ्जालमा यो सदस्य छ । मेनइङे्गेज अलायन्स ग्लोबल सयन्त्रमा पनि यो आबद्ध छ । आजभन्दा चार वर्षअघि २०१८ को १५ अगस्टका दिन मेनइङ्गेज अलायन्स र यसको उत्तर अमेरिकी सञ्जाल ‘नामेन’ ले महिला विरुद्ध हुने यौन हिंसामा आफूलाई नारीवादी पुरुष भन्नेहरुको भूमिका के हुनुपर्छ भन्ने विषयमा संयुक्त एक वक्तव्य जारी गरे । महिलालाई दुई पुरुषले गरेको यौनहिंसाका विषयमा वक्तव्यमा कुरा उठाइयो । अमेरिकाको न्यूयोर्कस्थित स्टोनी ब्रुकको स्टेट युनिभर्सिटीका समाजशास्त्रका प्राध्यापक मिखाएल किमेल र लैङ्गिक समानताका पक्षमा काम गर्ने राष्ट्रसंघीय निकाय युएनविमेनका वरिष्ठ सल्लाहकार रवि कारकराले त्यस प्रकारको हिंसा गरेका थिए ।

यस प्रकारका हिंसा पितृसत्तात्मक संस्कार तथा पुरुषप्रधान अभ्यासका कारण समाजमा जटिल रुपमा देखापर्दछ । सक्ति–सम्बन्धले प्रकटमा ल्याउन दिइरहेको हुन्न । हाकिमले गरेको व्यवहार सहायकले सहनुपर्छ, श्रीमान्को आदेश श्रीमतीले स्वीकार गर्नुपर्छ, ठूला भनिएका व्यक्तिको विरोध सानाले गर्नुहुन्न भन्ने परम्पराका कारण यौन हिंसाका घटनाहरु पनि आम रुपमा बाहिर आउँदैनन् । मुलुकलाई सभ्य बनाउने हो भने हरेक नागरिक सभ्य हुनु र सभ्य आचरण गर्नु आवश्यक छ । यस आवश्यकतालाई हामी सबैले आत्मसात गरौं ।

प्रतिक्रिया दिनुहोस्