रोल्पाका छ पालिकामा माओवादी र दुईमा कांग्रेस विजयी



रोल्पा।

रोल्पाको एक नगरपालिकासहित पाँच गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।रोल्पा नगरपालिका, थवाङ, परिवर्तन, सुनिलस्मृति, माडी, लुग्रीगाँउपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ, भने गङ्गादेव र रुन्टिगढी गाउँपालिकामा कांग्रेस विजयी भएको छ । रोल्पा नगरपालिकाको नगर प्रमुखमा नेकपा माओवादीका सुरेन्द्र थापा घर्तीले ७६०३ मत प्राप्त गरी विजयी हुनुभएकभएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शेरबहादुर थापाले तीन हजार ६५८ मत प्राप्त गरेका थिए । उपप्रमुखमा माओवादीका गीता आचार्यले सात हजार ७४१ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पुष्पा श्रेष्ठले तीहजार ७१९ मत प्राप्त गरेकी छन्।

दसवटा वडा रहेको रोल्पा नगरपालिकामा माओवादीले नौ वटा वडामा जितेको छ । नगरपालिकाको एउटा वडा भने नेपाली कांग्रेसले जितेको छ ।
थवाङ गाउँपालिका माओवादी विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार दर्जित रोकामगरलाई ६१६ मतान्तरले पछि पार्दै माओवादीका ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन । बुढाले दुईहजार १२२ मत पाउँदा रोकाको पक्षमा एक हजार ५०६ मत आएको थियो । उपाध्यक्षमा माओवादीका सर्मिला बुढामगर दुईहजार १२२ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले एक हजार ४६८ मत प्राप्त गरेका थिए । थवाङमा नेकपा माओवादी केन्द्रविरुद्ध कांग्रेस–एमाले–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए ।

त्यसैगरी परिवर्तन गाउँपालिकामा माओवादीका शुकबहादुर बुढामगर तीन हजार ३११ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वकुमार चन्दले तीन हजार १३१ मत प्राप्त गरे । उपाध्यक्षमा माओवादीका कलादेवी खत्रीनी तीन हजार ३८७ मत प्राप्त गरी विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सपना बुढामगरले दुई हजार ३०८ मत प्राप्त गरे । सो गाउँपालिकामा कांग्रेस–एमाले–एकीकृत समाजवादी–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए ।

रुन्टीगढी गाउँपालिकामा कांग्रेसका जनक पुनले ४३९१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोविन्द पुनले ३७०८ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका सरिता केसी निर्वाचित भएकी छिन् । उनले चार हजार ४३७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कौशिला घर्ती क्षेत्रीले ३७०८ मत प्राप्त गरेका थिए । माडी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अमरसिंह घर्तीमगरले तीन हजार ८३० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय घर्ती मगरले तीन हजार ३७१ मत प्राप्त गरेका थिए। उपाध्यक्षमा माओवादीका जयपुरी घर्तीमगरले तीन हजार ९६६ मत प्राप्त गरी विजयी भएकी छन । उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण विकले तीन हजार ५० मत ल्याएका छन् । जिल्लामा १ नगरपालिकासहित ९ गाउँपालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्