गुल्मीमा चार केन्द्रीय नेता मतदान गर्दै



गुल्मी । 

स्थानीय तहको निर्वाचनमा गुल्मी जिल्लाबाट ४ जना केन्द्रीय नेता मतदान सहभागी हुने भएका छन् । केन्द्रीय नेताहरु नेकपा एमाले उप–महासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, नेपाली कांग्रेस नेता चन्द्र भण्डारी र एकीकृत समाजवादी सचिव एवं शहरी विकासमन्त्री रामकुमारी झाँक्री जिल्लाका अलग–अलग गाउँपालिकाबाट मतदानमा सहभागी हुँदै छन् ।

उपमहासचिव प्रदीप ज्ञवालीले रूरू गाउँपालिका–५ को बम्घा निमावि मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । एमाले सचिव गोकर्ण विष्टले इस्मा गाउँपालिका–४ को दोहोलीको रामराज्य मावि मतदान केन्द्रबाट मतदान गर्ने नेकपा एमाले गुल्मीले जनाएको छ ।त्यस्तै, नेपाली कांग्रेसका केन्द्रीय नेता चन्द्र भण्डारीले छत्रकोट गाउँपालिका–१ को जनजागृति मावि हुँगाबाट मतदान गर्ने नेपाली कांग्रेस गुल्मीले जनाएको छ । एकीकृत समाजवादी सचिव एवं शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मदाने गाउँपालिका–४ म्यालपोखरी माविको मतदान केन्द्रबाट मतदानमा सहभागी हुने एकीकृत समाजवादी गुल्मी जिल्ला नेता नरेश भण्डारीले बताउनुभयो ।

मतदानका लागि केन्द्रीय नेताहरू आ–आफ्नो मतदान केन्द्रमा पुगेका छन् । नेताहरु केही दिनअघि जिल्लामै विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका थिए । जिल्लामा ९३ वडामा १ सय ४२ मतदानस्थल रहेको छ भने २ सय ७९ वटा मतदान केन्द्र रहेको रहेका छन् ।गुल्मीमा ४ सय ८९ जना जनप्रतिनिधीहरुका लागि १ हजार २ सय ४३ जना चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनका लागि जिल्लामा २ लाख २४ हजार २ सय ७६ जना मतदाता रहेका छन् ।

निर्वाचनका लागि शान्तिपूर्ण भयरहित वातावरणमा मतदान कार्यसम्पन्न गर्न सुरक्षाको प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।नेपाल प्रहरी, म्यादी प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाले आवश्यक सुरक्षाको प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदान गर्न मतदातालाई उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्