पैसा बाँड्दा–बाँड्दै एमाले वडाध्यक्ष उम्मेदवार प्रहरी फन्दामा

मौन अवधिको व्यापक उल्लंघन


सुर्खेत ।

मौन अवधिको व्यापक उल्लंघन गर्दै सुर्खेतमा मतदातालाई पैसा बाँड्दै गरेका नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार प्रहरी फन्दामा परेका छन् । एमाले गुर्भाकोट नगरपालिका–११ का वडाध्यक्षका उम्मेदवार राजन बिसी प्रहरी फन्दामा परेका हुन् ।

मतदातालाई पैसा बाँडेको सूचना आएपछि प्रहरीले बुधबार राति नै बिसीलाई पक्राउ गरेको हो । वडाको एक गाउँका मतदाताको घरमा पुगेर उनले पैसा बाँडिरहेको सूचना पाएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरी पुग्दासम्म उनले पैसा बाँडिरहेका थिए । बिसी पैसा बाँड्दा–बाड्दै १ लाख १ हजार रुपियाँसहित पक्राउ गरेका प्रहरीले जनाएको छ ।
समातियो अधिकृत र प्रहरी कुट्ने सईलाई

मदिरा पिएर मातेको झोंकमा मतदान अधिकृत र म्यादी प्रहरी कुट्ने सईलाई प्रहरीले नियन्त्रमा लिएको छ । पञ्चपुरी नगरको निर्वाचनमा खटेका मतदान अधिकृत र म्यादी प्रहरीेलाई कुट्ने सई नरेन्द्रप्रसाद भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बुधबार)राति उनले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका हुन् । पञ्चपुरी नगरपालिका–७ धनबोटमा रहेको नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका वरिष्ठ सई (प्रहरी नायव निरीक्षक) भट्टले मतदान अधिकृत, सहायक मतदान अधिकृत र ड्युटीमा खटिएका म्यादी प्रहरीलाई कुटपिट गरेका थिए ।

भट्टको कुटपिटबाट मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमलासहित केही स्थानीय र म्यादी प्रहरीहरू घाइते भउका थिए ।प्रहरी अधिकृतले नै मादकपदार्थ सेवन गरी मतदान केन्द्रमा खटिएका कर्मचारीमाथि कुटपिट गर्नु निन्दनीय कार्य भएको भन्दै कारबाहीको प्रक्रिया सुरू गरिएको कर्णाली प्रदेश प्रहरीका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले बताउनुभयो ।