राजदूत डा. शर्माद्वारा ओहोदाको प्रमाणपत्र पेस


काठमाडौं   । 

भारतका लागि नेपालका नवनियुक्त राजदूत डा. शंकरप्रसाद शर्माले भारतका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा बुधबार आयोजित विशेष समारोहमा उहाँले आफ्नोे ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।

ओहोदाको प्रमाणपत्र पेस गरिसकेपछि राष्ट्रपतिसँग भएको शिष्टाचार भेटमा राजदूत शर्माले भारतका राष्ट्रपतिको व्यक्तिगत स्वास्थ्य, सुख, शान्ति र भारतका जनताको निरन्तर प्रगति एवं समृद्धिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपाली जनताका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

भारतका राष्ट्रपति कोविन्दले पनि राजदूत डा शर्मालाई भारतका लागि नेपाली राजदूत नियुक्त भएकोमा बधाई दिँदै नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपालका जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राजदूत शर्माले भारतका राष्ट्रपतिसमक्ष नेपाल र भारतबीचको शताब्दीऔं पुरानो बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू तत्पर रहेको जिकिर गर्दै दुई देशको सहयोगात्मक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफूले इमान्दार प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।उक्त अवसरमा भारतको परराष्ट्र मन्त्रालय, राष्ट्रपति कार्यालय र नयाँदिल्लीस्थित नेपाली दूताबासका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।