सीमानाका तीन दिन बन्द


बैतडी । 

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका तीन दिनका लागि बन्द गरिएको छ । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै वैशाख २७ गते गएराति १२ बजेदेखि वैशाख ३० गते राती १२ बजे सम्म सीमा बन्द भएको हो ।

जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार भारतसँग सीमा जोडिएको झुलाघाट नाका मंगलबार रातिदेखि बन्द गरिएको छ । उक्त अवधिमा सीमानाकामा पूर्णरूपमा आवत–जावत बन्द गरिनेछ । भारतीय अधिकारीहरुसँग समेत समन्वय गरेर नाका बन्द गरिएको हो । कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा बन्द गरिन्छ ।

यसैबीच निर्वाचनलाई नै मध्यनजर गरेर सीमाक्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको छ । बैतडीका १० स्थानीय तहमा १० पालिका प्रमुख, १० उपप्रमुख, ८४ वडाध्यक्ष र ३ सय ३६ वडा सदस्य गरी ४ सय ४० पदका लागि निर्वाचन हुँदै छ ।