विवादको छानबिन गर्न तीन सदस्य नियुक्त



काठमाडौं । 

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक तथा निकालिएका १० खेलाडीबीचको विवादबारे छानबिन गर्न तीन सदस्य नियुक्त गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आइतबार बसेको आकस्मिक बैठकले तीन सदस्यको छानबिन समिति गठन गरेको हो । उक्त समितिमा नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी भिक्टर राणा, पूर्व अन्तर्राष्ट्रिय फुटबलर विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा रहेकालाई राखिएको हो । समितिलाई घटनाको छानबिन र सिफारिस गर्नसमेत अधिकार तोकेको छ ।

नेपालले एक महिनापछि कुवेतमा एएफसी एसिया कप छनोटको खेल खेल्दैछ र त्यसअघि कतारमा अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । नेपाली टोली कतार जानुअघि नै समितिले प्रतिवेदन बुझाउनुपर्नेछ ।प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेतृत्व सम्हालिरहेका रोहित चन्दको होटलमा बस्नुपर्ने मागमा उनलाई प्रशिक्षण छाड्न भनेका थिए ।

नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितमा रोहितले टोलीको नेतृत्व गरेका थिए । अलमुताइरीको व्यवहारले गर्दा रोहितले प्रशिक्षण छाडेसँगै अन्य ९ खेलाडीले पनि प्रशिक्षण छाडेका थिए । रोहितको भनाइ थियो कि एन्फा होस्टलमा न्यूनतम सुविधा नभएकोले टोलीलाई होटलमा राख्नुपर्ने भन्दा अलमुताइरीले टोलीबाट निस्कन भनेका थिए ।

रोहितले अन्य खेलाडीको सल्लाह लिएर नै होटलमा राख्नुपर्ने अनुरोध गरेका थिए ।प्रशिक्षण छाडेका खेलाडीमा-रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, तेज तामाङ र सुमन लामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्