भोट चाहिन्छ ? ल्याप्चे लगाउनुस् !


काठमाडौं ।

बूढानीलकण्ठ नगरपालिकाका सामाजिक अभियन्ताहरूले तीन साताअघि शुरू गरेको उम्मेदवार–मतदाता करारनामाको अभियानले अहिले मुलुकका विभिन्न स्थानमा प्रवेश पाएको छ ।

‘घर–घरमा मत माग्न आउने उम्मेदवारलाई हामीले करारनामामा ल्याप्चेसहितको हस्ताक्षर गर्न प्रस्ताव ग¥यौं, हामीले बनाएको करारनामा सामाजिक सञ्जालमा भाइरल भयो’ सामाजिक अभियन्ता कृष्ण पाठक जानकारी गराउनुहुन्छ– ‘अहिले यस अभियानले विराटनगर, दाङ, नेपालगन्ज, रूकुमलगायतका क्षेत्रमा पनि प्रवेश पाएको छ, त्यहाँ पनि मत माग्न आउने उम्मेदवारलाई करारनामामा हस्ताक्षर गराउन थालिएको छ ।’

करारनामामा उम्मेदवारका तर्फबाट ८ बुँदामा प्रतिबद्धता व्यक्त गरिएको छ । ‘म फलानो नामको फलानो पदमा उम्मेदवार बनेको व्यक्ति यस करारनामामा हस्ताक्षर गर्दछु’ भन्दै प्रतिबद्धतापत्रमा प्रस्तुत करारनामा चुनावी घोषणापत्रकै अंग हुने जनाइएको छ ।करारनामाको दोस्रो बुँदामा आर्थिक, प्रशासनिक र नीतिगत भ्रष्टाचार नगर्ने र सरकारी स्रोत–साधन निजी स्वार्थमा नलगाउने प्रतिबद्धता छ भने तेस्रो बुँदामा पारदर्शिताको कुरा उठाइएको छ । निर्वाचन भएको एक महिनाभित्र ‘मेरो र मेरो सगोलमा बस्ने परिवारको सम्पत्ति विवरण सार्वजनिक गर्नेछु, आफ्नो कार्यकालको अन्त्यमा पनि सम्पत्ति विवरण सार्वजनिक गर्नेछु’ भनिएको छ ।

चौथो बुँदामा पालिकाको नीतिनियम जनताको सहभागितामा उनीहरूको स्वामित्व सिर्जना हुनेगरी तयार पार्ने र खर्च विवरण नियमित रूपमा सार्वजनिक गर्ने प्रतिवद्धता छ भने पाँचांैमा नागरिक परीक्षणका लागि कम्तीमा वर्षका एकपटक सार्वजनिक सुनुवाई गर्ने, छैटौंमा जात–लिङ्ग–भाषाका आधारमा कसैप्रति विभेद नगर्ने, सातौंमा पर्यावरणको संरक्षणप्रति संवेदनशील रहने र अन्त्यमा टोलबस्तीका लागि विकास–निर्माणका कार्य गर्ने करार गरिएको छ ।
‘आजसम्म यति उम्मेदवारले हस्ताक्षर गरे भन्ने अभिलेख संकलन गर्न सकिएको छैन, तर विजयी उम्मेदवारलाई उनको हस्ताक्षरसहितको करारनामाको पत्र फ्रेमसहित उपहार दिने तयारी भने साथीहरूले गरिरहेको बुझिएको छ’ अभियन्ता पाठकले भन्नुभयो ।