आर्मी महिला टोलीलाई पहिलो भलिबल उपाधि


काठमाडौं

विभागीय टोली त्रिभुवन आर्मी क्लबले भलिबलको इतिहासमा पहिलोपटक महिला विधामा उपाधि जितेको छ । छैटौं आरबीबी एनभीए क्लब लिग भलिबल अन्तर्गत महिलातर्फको राउन्ड रोविन लिगमा आर्मीले उपाधि जितेको हो । प्रतियोगिताको अन्तिम खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी पहिलोपटक विजेता बन्न सफल भयो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा आर्मीले पहिलो सेट २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा भने पुलिसले कडा चुनौती दिएको थियो । तर, आर्मीले यो सेट २५–२३ ले जितेको थियो । तेस्रो सेटमा पनि आर्मीले उच्च प्रदर्शनलाई निरन्तरता दिँदै २५–२० को जित निकाल्दै पहिलोपटक महिला विधामा उपाधि जित्न सफल भएको थियो ।

आर्मीले चार खेलबाट ९ अंक जोड्यो । समान ९ अंक नै रहे पनि पुलिस र एपीएफ म्याचको आधारमा पछि प¥यो । एभरेस्टले २ तथा डायमन्डले १ अंक जोडेका छन् ।

आर्मीले महिला भलिबल शुरु गरेयता फाइनलसम्म पुगे पनि उपाधि भने जित्न सकेको थिएन । यसअघि, आर्मी २०७६ मा पाँचौं केएनपी राष्ट्रिय महिला भलिबलको फाइनलमा पुगे पनि एपीएफसँग पराजित भएको थियो । त्यसपछि गत वर्ष पोखरामा भएको टाइगर कपमा आर्मी एपीएफसँग नै पराजित हुँदै उपाधि विमुख बनेको थियो ।

यस्तै, आर्मीको पुरुष टोलीले पनि प्रतियोगितामा उपाधि जितेको छ । शनिबार लिगको अन्तिम खेलमा हेल्प नेपाल क्लबलाई ३–१ ले हराउँदै आर्मी विजयी बनेको हो । लिगमा अपराजित रहने आर्मी एक्लो टोली हो र ६ जितका साथ आर्मीले १८ अंक जोड्यो । आर्मीले हेल्प नेपाललाई २५–१३,२५–१८,२६–२८,२८–२६ ले पराजित गरेको थियो ।