पनौतीमा विवाद मिलेपछि कांग्रेस ढुक्क


 पनौती । 

नेपाली कांग्रेसको पनौती नगरपालिका–७ को विवाद समाधान भएको छ । जिल्ला सभापति तीर्थ लामाको उपस्थितिमा बागी उम्मेदवारले पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने लिखित सहमति भएपछि वडामा विजयी हासिल गर्नेमा काग्रेस ढुक्क भएको हो ।

पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध वडा नम्बर ७ मा अध्यक्षको लागि कृष्णधन कर्माचार्य र सदस्यमा महेन्द्र सुधाकारले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यी दुई नेताले स्वतन्त्र उम्मेदावारीसँगै काग्रेसको माहोल बिग्रिएको थियो । यसअघिको निर्वाचन पनि जितेको कांग्रेसले यो वडामा आफ्नै नेता कार्यकर्ता मिलाउन एक साताभन्दा अघिदेखि सक्रिय प्रयास गरिरहेको थियो ।

शुक्रबार जिल्ला सभापति तीर्थ लामा, पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, जिल्ला कोषाध्यक्ष जगन्नाथ गिरी, पनौती निर्वाचन परिचालन समितिका संयोजक भोला थापालगायतका नेताले लिखित सहमति गरेर कांग्रेसलाई एकताबद्ध बनाउने बताएपछि विवाद मिलेको हो । यो वडामा फेरि पनि रामचन्द्र नास्नानीलाई पार्टीले आधिकारीक उम्मेदवार बनाएको छ ।

लिखित सहमतिमा सबै नेता–कार्यकर्ताले पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्ने, चुनाव जितेपछि सहकार्य गरी अघि बढ्ने भन्दै वडा अध्यक्षमा बागी उम्मेदवारी दिएका कृष्णधन कर्माचार्यको संयोजकत्वमा धनबहादुर जंगम, हेमा मानन्धर, नीलकण्ठ सैजुलगायतको संयन्त्र निर्माण गरेर विवाद समाधान गरिएको निर्वाचन परिचालन समितिका संयोजक भोला थापाले बताउनुभयो ।विवाद समाधान भएलगत्तै नगरप्रमुखका उम्मेदवार रामशरण भण्डारीसहित नेता–कार्यकर्ताहरु नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनका उम्मेदवारलाई भोट माग्न घरदैलो अभियानमा सहभागी भएका थिए ।