निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द

तोकिएको क्षेत्रमा मादक पदार्थ निषेध

0
Shares

काठमाडौं । निर्वाचन आयोगले मतदानको दिनको ४८ घण्टा अगाडिदेखि अन्तर्राष्ट्रिय सीमा बन्द गर्न नेपाल सरकारलाई आग्रह गर्ने भएको छ ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मतदानको दिनको ४८ घण्टा अगाडिदेखि मतदान नसकिँदासम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न सरकारलाई लेखी पठाउने आयोगले जानकारी दिएको छ ।

आयोगको बिहीवारको बैठकले बैशाख २७ गते मंगलवार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न र मतदान हुने दिन आन्तरिकरुपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न नेपाल सरकार गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

तोकिएको क्षेत्रमा मादक पदार्थ निषेध

यसैगरी, स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने)मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि बैशाख २७ गते राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री र सेवन सख्त निषेध गर्न गृह मन्त्रालयलाई लेखी पठाउने पनि आयोगले निर्णय गरेको छ ।