म्याराडोनाको जर्सीको मूल्य १ अर्बभन्दा बढी


लन्डन, (एजेन्सी)  ।

विश्वका दिग्गज फुटबलरमा सामेल डिएगो म्याराडोनाको १९८६ विश्वकपमा लगाएको जर्सीको दाम १ अर्बभन्दा बढी रुपियाँमा बिकेको छ । उक्त विश्वकपअन्तर्गत इंग्ल्यान्डविरूद्ध क्वार्टरफाइनल खेलमा लगाएको म्याराडोनाको उक्त जर्सी लिलाममा राखिएको थियो । कीर्तिमानी ७.१ मिलियन पाउन्डमा उनको जर्सी बिकेको थियो । यो रकम नेपालीमा करिब १ अर्ब ७ करोड ५६ लाख हुन आउँछ ।

अर्जेन्टिनाका दिवंगत फुटबलर म्याराडोनाले सोही खेलमा एक विवादास्पद गोल गरेका थिए । जसलाई हेन्ड अफ गड गोल भनेर संज्ञा दिइएको थियो । सो खेलमा म्याराडोनाले हेड गरेर गोल गर्न खोजेका थिए । तर, उनको उचाइको कारण हेड गर्न नसकेपछि उनले हातले बललाई पोस्टमा धकेलेका थिए । यो गोललाई खेलका अम्पायरले मान्यता दिएपछि उक्त गोल विवादास्पद बनेको थियो ।

यो खेलमा अर्को शताब्दीकै गोल सावित भएको थियो । उनले लगभग इंग्ल्यान्डका आधा खेलाडीलाई एक्लैले छल्याएर गोल गरेका थिए । एउटै खेलमा उनले एउटा विवादास्पद गोल र अर्को अविस्मरणीय गोल गरेका थिए । मेक्सिको सिटीमा २२ जुन १९८६ मा भएको यो खेलको बेग्लै महत्व र अधिक थियो । किनभने चार वर्षअघि ब्रिटेन र अर्जेन्टिनाबीच फाकल्यान्ड द्वीपलाई लिएर झगडा भएको थियो ।
म्याराडोनाले गरेको सो गोल करिब १६ वर्षपछि २००२ मा फिफाले शताब्दीकै सर्वश्रेष्ठ गोल चुनिएको थियो । यो खेलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले हराएको थियो । अर्जेन्टिनाले यो विश्वकपमा उपाधि नै जितेको थियो । तर, यसपछि भने अर्जेन्टिनाले विश्वकप उपाधि जित्न सकेको छैन ।

हजले जर्सी बेचेको

म्याराडोनाले आफ्नो जर्सी खेलपश्चात इंग्ल्यान्डका खेलाडी स्टिभ हजसँग साटेका थिए । म्याराडोनाको निधन नोभेम्बर २०२० मा भएपछि हजले यो जर्सी बेच्नका लागि होइन भनेका थिए । धेरै मान्छेले उनको ढोका ढकढक्याउन आउन थालेपछि उनले जर्सी बेच्ने सोचमा पुगेको बताए ।