टेबल टेनिस टोली माल्दिभ्स जाँदै

0
Shares

काठमाडौं ।

माल्दिभ्सको मालेमा हुने दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबल टेनिस प्रतियोगितामा सहभागी हुन नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यको नेतृत्वमा माल्दिभ्स जान लागेको टिममा आठ खेलाडी रहेका छन् । खेलाडीमा संयोग कपाली, रूबिन महर्जन, सुजन गडाल, इभाना थापा मगर, बियन्का राई, शुभश्री श्रेष्ठ, प्रिन्स थापा र उज्वल मानन्धर रहेका छन् ।म्याच कमिसनारमा तेजेन्द्र महारा र प्रशिक्षकमा मोहनदास बासुकला रहेका छन् । यस्तै, टिम पदाधिकारी प्रतेश श्रेष्ठ छन् । प्रतियोगिता बैशाख २६ देखि २८ गतेसम्म हुनेछ ।

प्रतियोगिताका क्रममा हुने दक्षिण एसियाली टेबल टेनिस संघको बैठकमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दाज वैद्य र दक्षिण एसियाली टेबलटेनिस संघका महासचिव शंकर गौत्तमले भाग लिने छन् ।टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबीच बिहीबार विदाइ गरे ।

त्यसअघि, नेपाल ओलम्पिक ककिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक छुट्टै कार्यक्रममा टोलीलाई सातदोबाटोमा बिदाइ गरेका थिए । उक्त कार्यक्रममा प्रतियोगितामा सहभागी हुने नेपाली टोलीका लागि लिनिङ नेपालका प्रमुख कार्यकारी अधिकृत राजेन महर्जनले पोसाक तथा खेल सामग्री प्रदान गरेका थिए ।