उपाधिका लागि रियल र लिभरपुल भिड्ने


लन्डन । 

जारी सिजनको यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि रियल मेड्रिड र लिभरपुल भिड्ने भएका छन् । रियलले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई सेमिफाइनलको दोस्रो लेगमा अतिरिक्त समयमा ३–१ को पुनरागमन तथा समग्रमा ६–५ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेपछि उपाधिका लागि अर्को इंग्लिश क्लब लिभरपुलसँग भिडन्त तय गरेको हो । लिभरपुलले पनि मंगलबार राति नै भएको खेलमा स्पेनिस क्लब भिल्लारियललाई समग्रमा ५–२ ले पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।

खेलको अन्त्यतिर पाँच मिनेटको अन्तरमा तीन गर्दै स्पेनिस क्लब रियल मेड्रिडले सानदार पूनरागमन जित निकाल्दै युईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सफल भयो । पहिलो लेगमा ३–४ ले पछि रहेको रियल दोस्रो लेगको खेलको अन्त्यतिर ३–५ को स्थितिमा रहँदा च्याम्पियन्स लिगबाट बाहिरिने संघारमा पुगेको थियो । तर, इन्ज्युरी समयको अन्त्यतिर ब्राजिली फरवार्ड रोड्रिगोले दुई तथा करिम बेन्जेमाले एक गोल गर्दै सर्वाधिक १३ पटकको च्याम्पियन रियललाई फाइनलको बाटो देखाए । दोस्रो लेगमा सिटीका लागि रियाद महारेजले एक गोल फर्काए ।

सान्टियागो बर्नबेउमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलको ७३औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई दोस्रो लेगमा १–० को अग्रता दिलाए । त्यसपछि जिततर्फ अग्रसर बनेको सिटीविरूद्ध रोड्रिगोलको दुई मिनेटमा अन्तरमा दुई गोल गर्दै रियलको सम्भावना जीवित राखे । खेलको ६८औं मिनेटमा टोनी क्रुसको स्थानमा मैदान छिरेका रोड्रिगोले ९०औं मिनेटमा करिम बेन्जेमाको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । लगत्तै रोड्रिगोले नै मार्काे एसेन्सियोको पासमा गोल गर्दै खेलमा २–१ को अग्रता लिदा खेल समग्रमा ५–५ गोलको बराबरीमा पुग्यो ।

त्यसपछि, अतिरिक्त समयको पाँचाैं मिनेटमा कप्तान बेन्जेमाले पेनाल्टीमा गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । रूवेन डियासले पेनाल्टी बक्समा फाउल गर्न पुगेपछि रेफ्रीले रियललाई पेनाल्टी प्रदान गर्दा यो सिजन च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता १५ गोल पु-याएका बेन्जेमा चुकेनन् । त्यसपछि लगातार दबाब खेपेको घरेलु टोली जित निकाल्दै फाइनलमा पुग्न सफल भयो । अब रियल र लिभरपुलबीच उपाधिका लागि २९ मे मा भिडन्त हुनेछ ।