वडाध्यक्षका उम्मेदवार बलायर कांग्रेस प्रवेश


डोटी । 

डोटीमा नेकपा माओवादी केन्द्रबाट शिखर नगरपालिका–११ का वडाध्यक्ष पदमा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका नेता शेरबहादुर बलायरले पार्टी परित्याग गरी बिहीबार नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ ।

वडाध्यक्षमा आफ्नो उम्मेदवारी दिएर चुनावी प्रचारप्रसार समेत गरिसकेका उहाँले एकाएक पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नुभएको हो । बलायरलाई पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले कांग्रेसमा स्वागत गर्नुभएको थियो ।

शेरबहादुर माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष समेत रहनुभएको थियो । माओवादीले सत्ता, सरकार, व्यवस्था, संविधानको विगतदेखि नै गलत प्रयोग गर्दै आएको र अहिले निर्वाचनमा समेत झूटा आश्वासन बाँडेर नागरिकसँग भोट माग्न थालेकाले माओवादी परित्याग गरी कांग्रेस प्रवेश गरेको वडाध्यक्षका उम्मेदवार बलायरको कथन छ ।