चुनावी सरगर्मीले छुन नसकेको मुसहर बस्ती

0
Shares

राजविराज  ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा चुनावी सरगर्मी निकै तात्न थालेको छ । विभिन्न पार्टीका उम्मेदवार दिनभरि र राति अबेलासम्म पनि भोट माग्न घर–घर धाइरहेका छन् ।

गाउँमा चुनावी माहोल रहे पनि वडा नम्बर ५ स्थित मुसहर बस्तीका विपन्न समुदायलाई भने चुनावी सरगर्मीले अझै छुन सकेको छैन । पोखरीको डिलमा लगभग १ सय ५० घरधुरी रहेको सो मुसहर बस्तीका बासिन्दा चुनावप्रति उदासीनझैं छन् । कारण हो उनीहरुका समस्याप्रति कसैले पनि चासो नदेखाउनु ।

वर्षामा डुबान, बाटोघाटोको कठिनाई, गरिबी, बेरोजगारीलगायतका समस्याले पीडित रहेका उनीहरु जसले जिते पनि आफूहरुका लागि केही गरिदेलान् भन्ने आशा मरिसकेको बताउन थालेका छन् । ‘पहिले पनि यसै गरी अनेक सपना देखाउँदै भोट मागेका हुन्’, स्थानीय जलेश्वरी देवी सदाले भन्नुभयो– ‘सपना सपनामै सीमित भयो, काम केही पनि भएन ।’बस्तीछेउकै पोखरीमा वर्षायाममा पानी जमेर घर डुबानमा पर्ने गरेको बताउँदै उहाँले पानी निकासीका लागि जनप्रतिनिधिलाई भन्दा कुनै सुनुवाई नभएको पीडा पोख्नुभयो । ‘हामीजस्ता असहायलाई डुबानमा परेका बेला पनि हेर्दैनन् भने त्यस्ता जनप्रतिनिधि र नेताको के काम ?’, उहाँले थप्नुभयो– ‘काम हुन्छ भन्ने विश्वास जसले दिलाउन सक्छ, उसैलाई भोट दिन्छौं ।’

सोही बस्तीकी ७५ वर्षीया बुलो सदाले गाउँमा उपचारको व्यवस्था नरहेको बताउँदै विरामी परेका बेला पैसा तिरेर उपचार गर्न सक्ने आफ्नो सामथ्र्य नरहेको विवशता सुनाउनुभयो । वडामा रहेको स्वास्थ्य संस्थामा निःशुल्क औषधि दिने भनिए पनि लिन गएको बेलामा रित्तो हात फर्किएर आउनुपरेको उहाँको दुःखेसो छ ।

चुनावका बेला जुलुसमा जानलाई बोलाएर दिनभरि घुमाउँदै भोकभोकै फर्काइदिएका कारण पनि मुसहर बस्तीकी बुल्नतीदेवी सदा निरास हुनुहुन्छ । ‘जुलुसमा जानलाई दिनदिनै बोलाउन आउँछन्’, उहाँ भन्नुहुन्छ– ‘बेलुका भोकभोकै फर्किनुपर्दा खत्रक्क जिउ गलेर आउँछ । हामीलाई अहिलेसम्म भोटबैंकका रूपमा मात्र नेताहरूले प्रयोग गरे ।’

१ सय ५० घरधुरीमा एउटा मात्रै धारा (ट्युवेल) रहेका कारण पिउने पानीको समेत अभाव खेप्नुपरिरहेको उनीहरुको भनाइ छ । पानीसम्म पिउन नपाएका बारेमा जनप्रतिनिधिहरुलाई भन्दा पनि कुनै व्यवस्था नगरिदिएको जलेश्वरी देवी सदाले गुनासो छ । ‘रोजगारीको व्यवस्था गर्ने भनी पहिले पनि आश्वासन नदिएका होइनन्’, उहाँले भन्नुभयो–‘हाम्रा समस्याका बारेमा जसले समाधान गर्छ उसैलाई मात्र मतदान गर्नेछौंं, होइन भने मतदानमै भाग लिन्नौं ।’