मनाङमा नमुना मतदान बदर मत शून्य

0
Shares

मनाङ । 

हिमालपारिको जिल्ला मनाङमा नमुना मतदान गरिएको छ । निर्वाचन कार्यालय मनाङको आयोजनामा सदरमुकाम चामेमा गरिएको नमुना मतदानमा मत बदर भएको छैन । नमुना मतदानमा मत बदर कम हुँदा मनाङका मतदान सम्बन्धमा सचेत रहेको देखिएको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बदर मत न्यूनीकरण गर्ने उद्देश्यले निर्वाचन कार्यालयले गरेको नमुना मतदानमा कुनै पनि पदमा मत बदर नभएको मतदान अधिकृतको भूमिकामा रहेका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार चामे गाउँपालिका–४ स्थित कबडहल बाहिर गरिएको नमुना मतदानमा ७८ जना मतदाताले मतदान गरेका थिए । नमुना मतदानमा स्थानीय तथा आमा समूहको सहभागिता रहेको थियो ।

निर्वाचन कार्यालका प्रमुख पुष्पराज शर्माले नमुना मतदानले मनाङको सदरमुकाम चामेका मतदाताहरू मतदानका विषयमा सुसूचित भएको देखिएको बताउनुभयो । तर, उहाँले अन्य स्थानमा मतदाता शिक्षा प्रभावकारी बनाउन राजनीतिक दल र उम्मेदवार लाग्नुपर्ने बताउनुभयो ।
मतदानका दिन गरिने सबै प्रक्रियाका बारेमा सर्वसाधारणलाई जानकारी दिन नमुना मतदान गरिएको जानकारी दिँदै उहाँले यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएकाले राजनीतिक दल र उम्मेदवारले घरदैलो अभियानका क्रममै मतदातालाई मत हाल्ने तरिकाबारे सिकाउनुभएको देखिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले मत बदर कम गराउन सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो । ‘सबै क्षेत्र सदरमुकामजस्तो शिक्षित छैन, तर पनि मत बदर नहुँदा मतदाका विषयमा यहाँका स्थानीयवासी सचेत रहेको पाइएको छ, अझ उम्मेदवारहरूले मतदाता शिक्षा प्रदान गर्न सके मनाङमा स्थानीय तहको निर्वाचनमा बदर हुनेछैन’ –प्रजिअ आचार्यले भन्नुभयो ।

स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन मतदातालाई निर्भिकतापूर्वक मतदानस्थसम्म पुग्ने वातावरण निर्माण गरिने उहाँको भनाइ थियो । मतदानमा सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि सहभागी थिए । पत्रकार, कर्मचारीलगायतले अनुगमन र मतदान स्थलको निरीक्षणसमेत गरी मतदान प्राक्टिकल रूपमा गरिएको थियो ।