कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि निष्कासित



काठमाडौं  । 

नेपाली कांग्रेसका बागी उम्मेदवार तथा ती उम्मेदवारका प्रस्तावक र समर्थक पाँच वर्षका लागि निष्काशित भएका छन् । पार्टीवाट स्वतः निष्काशित हुनेको विवरण संकलन भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभएको छ ।

कांग्रेस विधानमा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका विरूद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यको सदस्यता स्वतः समाप्त भई पार्टीबाट निष्काशित हुने वैधानिक व्यवस्था रहेको छ ।
मुख्य सचिव पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ–‘पार्टी विधानको धारा ३४ (४) (ख) र (ग) बमोजिम पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरूद्ध असहयोग गर्ने, अन्य पार्टीका उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्ने, पार्टीका उम्मेदवार र पार्टी हितविपरित कार्य गर्ने पार्टी सदस्यलाई स्थानीय तहको पार्टीको उम्मेदवारको राय समेत लिई जिल्ला अनुशासन समितिले निर्वाचन अवधिभर तत्काल सदस्यताबाट निलम्बन गर्न सक्नेछ ।

’ विज्ञप्तिमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका पक्षमा सक्रिय भई क्रियाशील रहन पार्टीका सम्पूर्ण सदस्यहरूलाई अनुरोध पनि गरिएको छ ।कांग्रेसले वुधवारसम्म पार्टीको आधिकारीक उम्मेदवारलाई सघाउने प्रतिबद्धताका साथ उम्मेदवारी नरहेको विज्ञप्ति जारी गरेमा कारबाही नगर्ने जनाएको थियो । कांग्रेसको पछिल्लो निर्देशनलाई समेत अटेर गर्नेको विवरण संकलन भइरहेको भन्दै मुख्य सचिव पौडेलले पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारकाविरुद्ध असहयोग गर्ने, अन्य पार्टीका उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्ने, पार्टीका उम्मेदवार र पार्टी हितविपरीत कार्य गर्ने पार्टी सदस्यलाई कार्वाही गरिने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्