काठमाडौंं
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले बैंकमार्फत मात्र खर्च गरेको वा नगरेको अनुगमन गर्न थालेको छ ।
आयोगको निर्देशनअनुसार ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयले अनुगमन थालेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो । निर्देशन अनुरूप अनुगमन शुरू गरेको विवरण आएको छ ।’ उहाँले भन्नुभयो ।
आयोगले निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल गरी बैंकमार्फत मात्र खर्च गर्न आग्रह गर्दै आएको छ । निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्चसम्बन्धी व्यवस्थामा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्न बैंक वा वित्तीय संस्थामा खाता खोल्नुपर्ने उल्लेख छ ।उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने, तोकिएका पदाधिकारीको नामसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्नेलगायतका व्यवस्था निर्वाचन आचारसंहितामा छ ।
२५ हजार रुपियाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत गर्नुपर्ने, व्यक्ति वा संस्थाबाट चन्दाका रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भर्पाइ दिई उम्मेदवारको वा राजनीतिक दलको बंैंक खातामा जम्मा गर्नुपर्ने प्रावधान आचारसंहितामा छ ।
त्यस्तै, खर्चको विवरण तथा बिल भर्पाइ राख्नुपर्ने, आम्दानी तथा खर्चको विवरण आयोगमा बुझाउनुपर्नेलगायतका व्यवस्था पनि छ । निर्वाचन नजिकिँदै गएपछि पैसाको चलेखल हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आयोगले विशेषतः महानगरपालिका र उपमहानगरपालिकामा गोप्य रूपमा टिम परिचालन गर्ने तयारी पनि गरेको छ । सूक्ष्म निगरानी राख्न टिम परिचालन गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो ।
यसैबीच, आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरूलाई स्पष्टीकरण सोध्ने क्रमलाई बढाएको छ । आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूलाई स्पष्टीकरण सोध्न थालेको हो । स्पष्टीकरणमा सोध्ने क्रम तीव्र रूपमा चलिरहेको छ । स्पष्टीकरण चित्त नबुझेमा कारबाही गर्न पनि आयोग बाध्य हुन सक्दछ’ –प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार आयोजित पत्रकार भेटघाटमा भन्नुभयो । आयोगले हालसम्म ३७ जना व्यक्तिसँग स्पष्टीकरण सोधिसकेको छ ।
आयोगले आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै वागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्री मोक्तान प्रचारप्रसारमा खटिएको फोटोसहितको विवरण सामाजिक सञ्जालमा भेटिएको भन्दै आयोगले स्पष्ट पार्न भन्दै पत्र लेखेको हो । आयोगले २४ घण्टाभित्र प्रमाणसहित जवाफ दिन भनेको छ ।त्यसैगरी, आयोगले रूपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेलाई पनि स्पष्टीकरण सोधेको छ । चुनाव प्रचारमा खटिएको सूचना पाएको भन्दै आयोगले उहाँलाई जवाफ दिन निर्देशन दिएको हो ।
आयोगले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० का वडाध्यक्ष उम्मेदवार अमृत खनाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मतदाताको खुट्टामा एक हजारको नोट राखेर भोट माग्दै गरेको भन्दै समाचार सार्वजनिक भएपछि आयोगले उहाँलाई त्यो काम गरेको हो कि होइन भनी सोधेको प्रवक्ता पौडेलले बताउनुभयो । निर्वाचन नजिकिँदै गएपछि आचारसंहिताको उल्लंघन गर्ने क्रम तीव्र रूपमा बढेको आयोगको भनाइ रहेको छ ।
मतदानको ४८ घण्टा अगाडिदेखि सीमानाका बन्द गरिने
निर्वाचन आयोगले वैशाख ३० गते हुने निर्वाचनमा मतदान हुने दिनको ४८ घण्टा अगाडिदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि अन्तर्राष्ट्रिय सीमामा आवतजावत बन्द गर्न सरकारलाई पत्र पठाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको बिहीबारको बैठकले वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न र मतदान हुने दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न गृह मन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको हो ।
उहाँले स्थानीय तह सदस्य निर्वाचन, २०७९ को व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मतदान हुने दिनको ४८ घण्टा अगाडिदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न गृह मन्त्रालयलाई पत्र पठाइएको जानकारी दिनुभयो ।











प्रतिक्रिया