स्थानीय तह निर्वाचन : देशैभरका विद्यालय ६ दिन बिदा हुने

0
Shares

काठमाडौं   ।

सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णयअनुसार शिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा तीन दिन बिदा दिन निर्देशन दिएको हो । सो निर्देशनअनुसार देशैभरका सामुदायिक विद्यालय तीन दिनसम्म बिदा हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले नेपाल समाचारपत्रसँगको अधिकांश विद्यालय मतदान केन्द्र भएकाले सबै विद्यालय बन्द हुन सक्ने बताउनुभयो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले मतदान केन्द्र भएका विद्यालय तीन दिनसम्म बन्द हुने बताउनुभयो । उहाँका अनुसार निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न केन्द्रले बिहीबार सबै स्थानीय तहसंग सहजीकरण गरी विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।सरकारी निर्णयअनुसार वैशाख २८ देखि ३० गतेसम्म विद्यालय बन्द हुनेछ । ३१ गते शनिबार परेको छ । जेठ १ गतेदेखि शनिबार र आइतबार गरी साताको दुईदिन बिदा दिने सरकारी निर्णयअनुसार जेठ १ गते आइतबार पनि विद्यालय बन्द हुनेछ । जेठ २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेको छ । यसरी देशभरका सरकारी विद्यालय ६ दिन बिदा हुने भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष डिके ढुंगानाले उपत्यकाका निजी विद्यालय ३ दिनसम्म बिदा हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘उपत्यका बाहिरका अभिभावक मौन अवधिको एक दिनपछि अर्थात् वैशाख २८ गतेबाटै मतदान गर्न उपत्यका बाहिर जानुपर्ने भएकाले सो दिनदेखि विद्यालयमा बिदा हुने छ ।’ बिदाको विषयमा संस्थागत निर्णय नगरिएको जानकारी दिंदै उहाँले भन्नुभयो– ‘स्थानीय निकाय अन्तर्गतका कमिटी आफैंले निर्णय गर्लान्, उपत्यकाको हकमा २८ देखि बिदा दिनेछौं । ‘यस विषयमा संस्थागत निर्णय नगरेकोले सोहीअनुसार कार्यान्वयन गर्न अनौपचारिक निर्णय गरिएको छ ।’

निर्वाचन, आइतबार बिदा दिने सरकारी निर्णय र बृद्ध जयन्तीका कारण देशैभरका निजी र सामुदायिक विद्यालय ६ दिन बन्द रहने देखिएको छ । तर शैक्षिकसत्र शुरू नभएको कारण यति लामो समय बिद्यालय बन्द हुँदा पनि खासै समस्या नपर्ने विद्यालय सञ्चालको भनाइ छ ।
केन्द्रले मतदान प्रयोजनका लागि विद्यालय भवन उपयोग गर्नुपर्ने भएकोले उक्त मतदान स्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयहरूमा सो अवधिमा विद्यार्थीलाई बैकल्पिक पद्दतिबाट पठनपाठनको व्यवस्था गर्न इकाइलाई निर्देशन दिएको छ । केन्द्रसंग यति विद्यालयमा मतदान केन्द्र कायम गरिएको छ भन्ने तथ्याङ्क छैन । तैपनि, अधिकांश विद्यालयमा केन्द्र कायम गरिएकाले सबैजसो विद्यालय बन्द हुने सम्भावना रहेको छ ।