काठमाडौं विश्वविद्यालयले खोल्यो मिडियामा स्नातकोत्तर


काठमाडौं  । 

काठमाडौं विश्वविद्यालयले यसै वर्षदेखि मास्टर इन मिडिया स्टडिज चलाउने भएको छ । विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागले बुधबार हात्तीवनमा पाठ्क्रमको रूपरेखा सार्वजनिक गर्दै आम सञ्चारको नेतृत्व तहमा आउने र मिडिया परिवेशमा विश्वको परिवर्तनसँग प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि यो कार्यक्रम ल्याएको जानकारी गरायो ।

‘अन्य धेरै विश्व विद्यालयमा मिडियामा स्नातकोत्तरको पढाइ सुरू भएको लामो समय भए पनि विगत १६ वर्षदेखि हामी भने स्नातकसम्मको पढाइ मात्र गरिरहेका थियौँ, तर अब हामीलाई लाग्यो आम सञ्चारका विभिन्न क्षेत्रलाई नेतृत्व दिने जनशक्ति उत्पादन आवश्यक छ, हामी सम्पूर्ण परिवेशको अध्ययन गरी नयाँ कार्यक्रम लिएर आएका छौँ,’ विभागीय प्रमुख डा. सुधांशु दाहालले भन्नुभयो– अरू पत्रकारितामा बढी केन्द्रित छन्, तर हामी पत्रकारिता मात्र नभई आमसञ्चारका अन्य क्षेत्रमा पनि उपयोगी हुने दक्ष जनशक्ति उत्पादन गर्न चाहन्छौँ ।

भाषा तथा आमसञ्चार विभागका रिडर डा. निर्मणमणि अधिकारीले मास्टर्स इन मिडिया स्टडिज कार्यक्रमको रूपरेखा प्रस्तुत गर्दै विदेशी विद्यार्थीलाई पनि नेपालमा आएर स्नातकोत्तर अध्ययन गर्ने, मिडियाको पूर्वेली दर्शन र अभ्यासबारे जानकारी लिने अवसर प्राप्त हुने बताउनुभयो ।

‘जुनसुकै विषयमा स्नातक गरेका विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गरेर स्नातकोत्तर कार्यक्रममा भर्ना हुनसक्नेछन्, दुई वर्षे कोर्स पूरा गरे त्यही अनुसारको र पहिलो वर्ष वा एक सेमेस्टर मात्र उत्तीर्ण गरे पनि सोही अनुसारको प्रमाणपत्र लिएर जानेछन्’ डाक्टर अधिकारीले भन्नुभयो– चलचित्र, डकुमेन्ट्री, स्क्रिप्ट लेखनका विषयहरू पनि कोर्समा समेटिएका छन् । एउटै विषय मात्र पढ्छु र त्यसैको मात्र प्रमाणपत्र पनि लिन्छु भन्नेलाई पनि स्वागत छ, उहाँले भन्नुभयो ।