संगीतकर्मी र पत्रकारलाई नातिकाजी सम्मान र पुरस्कार


संगीत महर्षि नातिकाजीको स्मृतिमा स्थापित नातिकाजी स्मृति समाजले विभिन्न विधाका संगीतकर्मी र पत्रकारलाई नातिकाजी सम्मान र पुरस्कारबाट सम्मानित गरेको छ।

समाजले सोमबार राष्ट्रपति भवनमा आयोजना गरेको एक समारोहबीच संगीतकर्मी र पत्रकारलाई प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मान र पुरस्कार प्रदान गरेको हो। समाजका अध्यक्ष शम्भुजित बासकोटाको सभापतित्वमा सम्पन्न समारोहमा दुई दर्जन संगीतकर्मी र स्रष्टालाई सम्मान र पुरस्कार प्रदान गरिएको हो।

समारोहमा गायिका नुपुर बनर्जी भद्माचार्यलाई २० हजार एक रुपियाँसहित नातिकाजी राष्ट्रिय विशिष्ट सम्मानबाट सम्मानित गरिएको छ भने गीतकार बिबी थापा, एसपी कोइराला, ज्ञानेन्द्र गदाल, शिला पन्त, हरिभक्त बुढाथोकी, सहदेव ढुंगाना र शीतल कादम्बिनी, साउन्ड इन्जिनियर प्रदीप उपाध्याय, शास्त्रीय संगीतकर्मी प्रभु ढकाल, गायक तथा गीतकार सीताराम पोखरेल, गायक उमेश पाण्डे र करन्ती मोक्तान, वाद्यवादक नारायणदास कार्की ढली र अर्केस्टा संगीतकर्मी राजकुमार श्रेष्ठलाई राष्ट्रपति भण्डारीले नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान प्रदान गरिन्।

त्यसैगरी, गीतकार अरुण तिवारी, संगीतकार सन्तोष श्रेष्ठ, गायक शिव परियार र गायिका निशा देशारलाई जनही ११ हजार रुपियाँसहित नातिकाजी राष्ट्रिय संगीत पुरस्कार प्रदान गरिएको छ। गायक अजर जंगम, गायिका सिन्धु मल्ल, गीतकार डिपी दाहाल र संगीतकार अर्जुन पोखरेललाई जनही ११ हजार रुपियाँसहित नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार तथा सितारवादक अमृतहिरा तुलाधर योगीलाई नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार प्रदान गरिएको छ।

त्यस्तै, एलिश कार्की ढलीलाई जनही ११ हजार रुपियाँसहित नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार, कृष्ण कँडेललाई ११ हजार रुपियाँसहित नातिकाजी राष्ट्रिय लोकसंगीत पुरस्कार प्रदान गरिएको छ भने विजयरत्न तुलाधर र दिवाकर मैनालीलाई जनही ११ हजार रुपियाँसहित नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।

समारोहमा राष्ट्रपति भण्डारीले स्वर्णिम नेपाली संगीतको प्रवद्र्धनमा संगीतकार नातिकाजीको अतुलनीय योगदान रहेको चर्चा गर्दै उनका कालजायी सिर्जना मुलुकको सम्पदाको रुपमा रहेको बताइन्। समाजका अध्यक्ष शम्भुजित बासकोटाले नेपाली संगीतमा नातिकाजीको योगदानको स्मरण गर्दै समाजबाट संगीतकर्मीलाई सम्मान र पुरस्कार कार्यक्रमलाई निरन्तरता दिइने बताए।